Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्थानीय तहमा अब कांग्रेस पहिलो दल

स्थानीय तहमा अब कांग्रेस पहिलो दल

दैनिकी न्यूज

५, जेठ २०७९
स्थानीय तहमा अब कांग्रेस पहिलो दल
images

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विगत जोगाउने परिणाम ल्याउन नसक्दा एक स्थान तल झर्दै दोस्रो बन्ने देखिएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख–अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर बुधबार राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसले विगतको दोस्रो स्थानको हैसियतलाई बदल्दै स्थानीय तहमा पहिलो दल बन्ने पक्का भएको हो ।

राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ३० स्थानीय तहमा प्रमुख–अध्यक्षमा जित हात पारेको छ भने ८७ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३ सय बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ । यस्तै, नेकपा एमालेले १ सय ४९ तहमा प्रमुख–अध्यक्षमा जित हात पार्दा ५० स्थानीय तहमा अग्रता लिएको छ ।

यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतको भन्दा करिब ९० स्थानीय तह गुमाउने देखिएको छ । यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १०६ तह जित्दै तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र) ले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बुधबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय स्थानीय तहमा जित निकालिसकेको छ भने २० स्थानीय तहमा अग्रता लिएको छ ।

यसैगरी, स्थानीय तहमा चौंथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ । बुधबार राति अबेरसम्मको परिणामअनुसार जसपाले १० स्थानीय तहमा प्रमुख÷अध्यक्ष जितेको छ भने नेकपा एसले नौ तहमा प्रमुख–अध्यक्ष जितेको छ । यस्तै, नेकपा एसले ११ र जसपाले २५ स्थानीय तहमा अग्रता लिएको छ ।

राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसबाट २१५ स्थानीय तहमा उपप्रमुख–उपाध्यक्ष निर्वाचित भइसकेका छन् । यस्तै, ८० तहमा उपप्रमुख–उपाध्यक्ष पदमा कांग्रेस अघि छ । यसैगरी, १५३ स्थानीय तहमा एमालेका उपप्रमुख–उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी, ८५ तहमा एमालेको अग्रता छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का १०५ जना उपप्रमुख–उपाध्यक्ष विजयीबन्दा १८ स्थानमा अग्रता छ । यसैगरी, नेकपा एसका १६ उपप्रमुख–उपाध्यक्ष निर्वाचित बन्दा तीन तहमा सो पदमा अग्रता छ । जसपा नेपालले स्थानीय तहका उपप्रमुख–उपाध्यक्ष पदमा ११ स्थानमा जित निकालेर १६ तहमा सो पदमा अग्रता लिएको छ ।

यस्तै, लोसपाले प्रमुख–अध्यक्षमा एक तहमा जितेको छ भने नौ तहमा अघि छ । उपप्रमुख–उपाध्यक्ष पदमा लोसपाका उम्मेदवारले एक तहमा जित्दा १० तहमा अघि छ । स्थानीय तहको नेतृत्व चयनका लागि गत ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार कायम छन् । तीमध्ये स्थानीय तहमा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।

स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् । यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०६:२३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology