काठमाडौं । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले जित निकालेको छ।
नेकपा (एकीकृत समाजवादी) सँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन्।
सुवेदीले ३ हजार २ सय मतसहित गाउँपालिका अध्यक्ष पद पक्का गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत ल्याए।
यहाँ एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १ हजार ९२० मत ल्याएका छन्। यो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगाबहादुर शाही २ हजार ८ सय ३४ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २ हजार ४०५ भोट ल्याइन्। उपाध्यक्षमा एमालेकी गीता चन्दको पक्षमा १९ सय १८ मत मात्रै पर्यो।
दैलेखमा माओवादी शान्ति प्रक्रियामा आएपछिका सबै चुनावमा एमाले विजयी हुने गरेको थियो।
दैलेखमा माओवादीले कुनै चुनाव जित्न सकेको थिएन। यसअघि वडाअध्यक्षसमेत नजितेको माओवादीले समाजवादीसँगको तालमेलपछि पहिलो पटक परिणाम आफ्नो पक्षमा पारेको छ।