Logo

सोमवार, आश्विन २६ गते २०८३

images

आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

दैनिकी न्यूज

२९, बैशाख २०७९
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही
images

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो ।

सो टोलीलाई आचारसंहिता उल्लंघन भएको पाइए तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर फिल्डमा पठाइएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

‘कहीँकतै आचारसंहिता उल्लंघनका घटना भयो भने फिल्डबाटै कारबाही गर्न सक्ने गरी आयोगले १९ वटा टोली खटाएको छ । ती टोलीले फिल्डबाटै एक्सन लिएर आचारसंहिता उल्लंघनकर्तालाई कारबाही गरेको आयोगमा जानकारी गराउनेछन्,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

आयोगले ती टोलीलाई तुलनात्मक रूपमा संवेदनशील मानिएका स्थानमा खटाएको हो । अनुगमन टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्ता घटना भएको पाइए वा देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सो टोलीलाई सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएको पाइएमा पनि तत्काल कारबाही गर्ने अधिकार पनि दिएको छ ।

स्थानीय तह निर्वाचनका लागि २७ वैशाख राति १२ बजेबाट नै मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका गतिविधि गर्न पाइनेछैन । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०५:५८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology