ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१० वडाका वडाध्यक्ष उम्मेदवार शेखर न्यौपानेले आफू वडाध्यक्ष भएमा वडाका सबै सार्वजनिक स्थानहरुमा इन्टरनेट सेवा जडान गर्ने बताएका छन् । वडामा रहेका सार्वजनिक स्थानहरुलाई पार्कमा परिणत गर्ने उनको योजना छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका हुन् । उनले आफू वडाध्यक्ष भएपछि वडाका समग्र समस्या समाधान गर्नेतर्फ लाग्ने प्रतिबद्धता जनाएका छन् । वडाभित्रका सडकलाई स्तरोन्नती गर्ने, सडकमा मुख्य चोक, मुख्य नाका, दुर्घटनाग्रस्त क्षेत्र तथा अति संवेदनशील क्षेत्रमा सिसि टिभी जडान गर्ने योजना पनि उनले अघि सारेका छन् । त्यस्तै वडा क्षेत्रमा सम्पदा संरक्षणमा पनि आफूले चासो दिने र योजना बनाएर काम गर्ने उनको योजना छ ।
यसबाहेक महिला तथा बालबालिका, युवा तथा खेलकुद, स्वास्थ्य/शिक्षा, भुमि व्यवस्था, कृषि तथा वातावरण, तथ्यांक संकलन तथा व्यवस्थापन, लगानीमैत्री वातावरण सिर्जना, धार्मिक कार्यक्रम, जेष्ठ नागरिक, फोहोर मैला व्यवस्थापन, प्राकृतिक प्रकोप तथा जोखिम व्यवस्थापनलगायत मुख्य क्षेत्रहरुलाई समेटेर उनेल चुनावी घोषणापत्र तयार पारेका छन् । यी मुख्य क्षेत्रभित्र रहेर सबैजसो समस्या समाधान गर्ने र वडालाई व्यवस्थित पार्ने उनले बताए । ‘यस वडालाई व्यवस्थित पार्ने योजना र सुत्रसहित म उम्मेदवार बनेको हुँ’ उनले भने, ‘पाँच वर्षमा वडाको मुहार फेरिनेछ ।’
उनले वडामा खानेपानीका स्रोतहरुको पहिचान गरी सबैजसो घरमा खानेपानी वितरण गर्ने योजना पनि तय गरेका छन् । त्यस्तै वडाका सबैजसो कार्यालयहरु अपांगमैत्री हुने उनको भनाई छ ।