गोकुल कार्की/रौतहट । रौतहट चन्द्रपुर नगरपालिका–२ को वडाध्यक्षको लागि उम्मेदवार बनेका कल्याणराज कुश्वारले आफू निर्वाचित भए खर र फुसको छानाका घरलाई जस्तापाता उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् । उनले आफ्नो वडामा अनेकौं समस्या र स्थानीयको दैनिक समेत सहज नभएकोले त्यसलाई सहज बनाउन आफूूले उम्मेदवार दिएर वडाध्यक्ष बन्ने दौडमा रहेको बताएका हुन् ।
उम्मेदवार दिएपछि उनी स्थानीयको घरघरमा भोट भाग्दै हिडेका छन् । साथै आफू वडाध्यक्ष भएपनि त्यस वडालाई व्यवस्थित पार्ने र वडावासीको जीवनस्तरमा सुधार ल्याउने बाचा वडावासीसमक्ष गरेका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
स्थानीय स्तरमा रहेका लामो समयदेखि सामाजिक कार्य गर्दै आएको र स्थानीयका समस्या हल गर्नको लागि वडाको नेतृत्व लिन चाहेको उनको भनाई छ । ‘यस वडामा धेरै समस्या छन्, कोहीको राम्रो बास छैन, कोहि भुमिहिन छन्, दलित तथा सुकुम्वासीका आफ्नै समस्या छन्,’ उनले भने, ‘म वडाध्यक्ष भएपछि यी समस्यालाई विस्तारै हल गर्दै लैजान्छु ।’ उनले वडामा सीपमुलक शिक्षा योजना पनि आफुले ल्याएको वताउँदै सामुदायिक विद्यालयलाई सुधार गर्ने बताए । त्यसको लागि छात्रवृति कार्यक्रम ल्याउने र विद्यालयको संरचनामा पनि सुधार गर्ने उनको भनाई छ ।
उनले आफू वडाध्यक्ष भएपछि वडाबाट प्रदान गरिने सबै सेवा सुविधाहरु निःशुल्क गराउने बताए । त्यस्तै वडाको वृत्तचित्र तयार गरी वडालाई व्यवस्थित पार्ने उनको योजना छ ।
यस्ता छन् पाँचवर्षे योजना
- स्वास्थ्य चौकीको अधिग्रहण गरिएको जग्गा स्वास्थ्य चौकीकै नाममा फिर्ता ल्याउने,
- स्थानीयलाई स्वच्छ खानेपानी उपलब्ध गराउने,
- वडाभित्रका पूर्वाधार निर्माण गर्दा वडावासीलाई नै रोजगार दिने,
- स्वरोजगार कार्यक्रमलाई व्यवस्थित पार्ने,
- प्रवेशद्वारदेखिको मुल बाटो नालासहित कालोपत्रे गर्ने,
- पक्की कुलो निर्माणसहित कृषि बाटो निर्माण गर्ने,
- विद्युत नपुगेको ठाउँमा विद्युत सेवा पुर्याउने,
- मकवानपुर जोड्ने बाटाहरु व्यवस्थित पार्ने,
- सिचाईको लागि डिप बोरिङ, वर्षात्को पानी भण्डारण, पोखरी निर्माण लगायत काम गर्ने,
- व्यवसायिक र आधुनिक कृषि कार्यक्रमलाई व्यवस्थित पार्ने,
- वडा क्षेत्रको वन संरक्षण गर्ने,
- भित्री बाटाहरु व्यवस्थित पार्ने,
- वडाको स्वास्थ्य चौकीलाई व्यवस्थित पार्नेलगायत ।