ललितपुर । ललितपुर महानगरपालिका–२० वडाको उम्मेदवार बनेका धन वहादुर महर्जनले आकर्षक योजनासहित स्थानीयको घरघरमा पुग्ने गरेका छन् । नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षको उम्मेदवार बनेका उनी आफ्नो वडाभरी घरदैलो कार्यक्रम सकाएका छन् । स्थानीयको घरदैलोमा पुगेका उनले आफूले चुनाव जिते वडालाई व्यवस्थित पार्नेसहितका योजना स्थानीयलाई सुनाएका छन् । स्थानीयवासीले पनि उनलाई समर्थन गर्दै मतदान गर्र्ने इच्छा देखाएका छन् ।
महर्जन सोहि क्षेत्रका स्थानीयवासी हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनले सानैदेखि त्यस क्षेत्रमा सामाजिक काम गर्दै राजनीतिमा लागेका हुन् ।
यसपटक वडाको नेतृत्व गर्न पाए आफूले वडालाई नमुना वडाको रुपमा विकास गर्ने र स्थानीय वस्तीलाई समेत व्यवस्थित पार्ने बताएका छन् । उनले वडालाई प्रदुषणमुक्त पार्ने, रैथाने संस्कृति इतिहासलाई जिवित राख्ने तथा प्रवद्र्धन गर्ने, भित्री सडक विस्तार गर्ने र व्यवस्थित पार्नेसहितका उनका योजना छन् । ‘यो वडा महानगरभित्रको फरक वडा हो । त्यसकारण पनि यसलाई फरक किसिमले व्यवस्थित पार्नुपर्छ,’ उनले भने, ‘यहाँको संस्कृति र वातावरण सुहाउने विकास गर्न म तत्पर छु ।’
यस्ता छन् पाँचवर्षे योजना
- प्राचीन नेवार वस्तीलाई पहिचानको रुपमा निर्माण गर्ने,
- वडाका सरकारी कार्यालय र संघसंस्थाको वोर्डमा नेपाल भाषा र रञ्जना लिपीको प्रयोग गर्ने,
- सार्वजनिक जग्गालाई पार्कको रुपमा विकास गर्ने,
- वडाभित्र रहेका हिटीको संरक्षण गर्ने,
- भित्री वस्तीमा ढल र खानेपानीको प्रबन्ध मिलाउने,
- स्वास्थ्य क्षेत्रमा वडावासीलाई प्राथमिकता दिने,
- मधुमेहका विरामीको महिनामा एक पटक निःशुल्क जाँच गर्ने,
- दीर्घकालीन स्वास्थ्य रणनीति तय गरी वडावासीको स्वास्थ्य उपचारलाई सहज पार्ने,
- वडामा रहेका निजी अस्पताललाई वडावासीको लागि विषेश छुट दिन पहल गर्ने,
- युवा तथा महिलालाई रोजगारीमुलक कार्यमा संलग्न गराउने
- हस्तकला र स्थानीय उपत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने,
- वडाका चोक चोकमा सिसि टिभी जडान गर्ने,
- वडावासीको सल्लाह र सुझाव अनुसार वार्षिक योजना बनाएर काम गर्ने ।


