Logo

सोमवार, आश्विन २६ गते २०८३

images

मजुवालाई माओवादीको भर

मजुवालाई माओवादीको भर

दैनिकी न्यूज

२२, बैशाख २०७९
मजुवालाई माओवादीको भर
images

पोखरा । तनहुँ र कास्कीको सिमाना कोत्रेपुल पश्चिम पोखरा महानगरपालिका–३२ मा रहेको छ मजुवा बस्ती । मजुवाका झण्डै २ सय घरधुरीसँग जग्गाको रातो पूर्जा छैन । ७८ वर्षीय दलबहादुर गुरुङलाई लालपूर्जाको मुख नहेरि मरिने चिन्ताले सताएको छ ।

गुरुङका अनुसार २०२१÷२२ सालतिर तनहुँको थप्रेकका २५–३० घरले गगनगौंडाका मुखिया चन्द्रबहादुर बस्नेतसँग ५ सय रुपैयाँमा मजुवाको फाँट नै किने । उक्त जग्गा दामासाहीले बाँडे । केहीले मात्रै मजुवा झरेर घर बनाएर बसे । ०३२ सालमा नापी आयो । त्यतिबेला मालपोत कार्यालयलेले मजुवामा घर बनाएर बसेकालाई मात्रै लालपूर्जा दियो । बाँकी जग्गा पर्तिमा जनियो । अहिले झण्डै २ सय घरधुरीसँग सेतो पूर्जा मात्रै छ ।

धेरै नेताले लालपूर्जा दिने पटकपटक आश्वासन दिए पनि चुनाव जितेर गएपछि फर्किएर नआएको गुरुङले बताए । ‘पहिला मानबहादुर जीसीले पक्का लालपूर्जा दिन्छु भनेर भोट मागे,’ उनले भने, ‘चुनाव जितेर गएपछि फर्किएर आएनन् ।

वडाअध्यक्षमा पनि कांग्रेसलाई जिताइयो तर हाम्रो समस्या समाधान भएन ।’ पैसा तिरेर किनेको जग्गामा पनि लालपूर्जा नहुँदा सुकुम्बासी सरह बस्नुपरेकोमा उनले दुःखमनाउ गरे । भने, ‘न बैंकले धितो राख्छ न झट्टै विक्री हुन्छ ।’

बुधबार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार घरदैलोमा पुग्दा उनको अनुहार उज्यालो देखियो । सुकुम्बासी, उत्पीडित, जनजातिको पक्षमा माओवादी केन्द्र सधैं लडिरहेकोमा उनले खुसी व्यक्त गरे । वडाअध्यक्ष र सदस्यका उम्मेदवारलाई जीतको आशिर्वाद दिए । भने, ‘हामीलाई अब माओवादीकै भर छ । मर्नु अघि लालपूर्जाको मुख देखाइदिनुस् ।’
महानगरको मेयर र उपमेयरमा पाँच दलीय गठबन्धन भए पनि पोखरा–३२ मा कांग्रेस र माओवादी केन्द्रले मित्रवत प्रतिस्पर्धा गरेका छन् । माओवादी केन्द्रबाट भुवानीप्रसाद पौडेल वडाध्यक्षका उम्मेदवार छन् । लामो समय राजनीतिमा बिताएका उनी वडामा निष्कलंक व्यक्तिका रुपमा परिचित छन् । उनले मजुवाको समस्या धेरै पहिलेदेखि बुझेको भए पनि नेतृत्वमा नहुँदा समाधान गर्न नसकिएको बताए । वडाको खुदीखोला समेत बाक्लो सुकुम्बासी बस्ती रहेकोले भूमी आयोगमार्फत एकमुष्ठ समस्याको समाधान गर्न पहल गर्ने प्रतिवद्धता उनले जनाए ।

‘यसपल्ट वडामा माओवादीलाई जिताउनुस् । त्यसपछि प्रदेश र संघमा पनि माओवादीले जित्दा यो समस्या समाधान हुन्छ,’ उनले भने, ‘भूमिहीन सुकुम्बासीप्रति माओवादी केन्द्र जति उदार छन्, त्यति अरु पार्टी छैनन् ।’

पोखरा–३२ मा माओवादी केन्द्रबाट महिला खुल्ला सदस्यमा गंगादेवी पौडेल, दलित महिला सदस्यमा वसन्ती विक, खुल्ला सदस्यमा अर्जुन मल्ल र गोकुल विक उम्मेदवार छन् ।

उक्त वडा माओवादी केन्द्रको पकड क्षेत्र हो । माओवादी नेता एवं प्रदेश सांसद दीपक कोइरालाले ३२ नम्बर वडामा जीत सहज भएको बताए । ‘यहाँका स्थानीयले पहिलेदेखि नै माओवादीलाई साथ दिँदै आएका छन्,’ उनले भने, ‘यसपल्ट वडामा माओवादी केन्द्र र महानगरमा गठबन्धनलाई जिताउनेमा विश्वस्त छौं ।’

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - ०६:३१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology