Logo

सोमवार, आश्विन २६ गते २०८३

images

कञ्चनपुरमा एमाले क्लिन स्वीप हुने अवस्थामा, पुनर्वासमा पनि चर्कियो विवाद

कञ्चनपुरमा एमाले क्लिन स्वीप हुने अवस्थामा, पुनर्वासमा पनि चर्कियो विवाद

दैनिकी न्यूज

२१, बैशाख २०७९
कञ्चनपुरमा एमाले क्लिन स्वीप हुने अवस्थामा, पुनर्वासमा पनि चर्कियो विवाद
images

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा नेकपा एमालेभित्र चुलिएको विवादका कारण नौ वटा स्थानीय तहमध्ये एउटामा पनि एमाले जित्न नसक्ने अवस्थामा पुगेको छ। आन्तरिक विवादका कारण कार्यकर्ता निराश भएपछि यसको असर स्थानीय निकायको निर्वाचनमा पर्ने भएको हो।

एमाले जिल्ला पार्टीले सिफारिस गरेका उम्मेदवारहरुलाई केन्द्रले अनुमोदन नगरेपछि जिल्लाका निर्णायक मानिएका नगरपालिकामा एमालेलाई संकट देखिएको छ ।

जिल्ला अध्यक्ष सुरेन्द्र विष्टलाई घनश्याम भुसालको मान्छे भन्दै ओलीले माओवादीबाट गएका बीर बहादुर थापालाई काखी च्यापेपछि एमालेको बहुमत पंक्ति अहिले निराश बनेको हो । यसको प्रत्यक्ष असर हरेक स्थानीय तहमा देखिएको छ ।

पुनर्वासमा एमालेले पदम पुजारालाई मेयरको टिकट दिएपछि लामो समयदेखि पार्टीमा सक्रिय भारमल सुनारलगायतका असन्तुष्ट बनेका छन् । यति मात्रै होइन, भारमलहरुले वडाध्यक्षमा अगाडि सारेका उम्मेदवार समेत पुजारा पक्षले धम्की र कुटपीट गर्दै परिवर्तन गरेपछि पुनर्वासमा झन ठूलो विवाद देखिएको हो ।

उम्मेदवार मनोनयनको अघिल्लो दिन पुजारा पक्षले भारमल पक्षमाथि आक्रमण गर्दै उम्मेदवार परिवर्तन गरेको थियो । भारमल सुनारलाई कोठाभित्र थुनेर हातपात समेत भएको थियो । दलित समुदायको ठूलो मतभार रहेको पुनर्वासमा सुनारमाथि हातपात भएपछि दलित समुदायको भोट एमालेलाई जाने देखिन्न । दलित समुदायको अधिकारको पक्षमा लडनुभन्दा दलित समुदायबाट संघर्ष गरेर नेता बनेका सुनारमाथि नै पैसा र गुण्डाको भरमा हातपात गरिएको भन्दै अधिकांश दलित समुदाय एकीकृत समाजवादीका उम्मेदवार जीवन थापाको पक्षमा खुलेर लागेका छन् ।

उता बेलौरी नगरपालिकामा समेत लामो समयदेखि सक्रिय पल्लव भट्टको स्थानमा कहिलेकाहीँ मात्रै फिल्डमा देखिने कमला बोहरालाई टिकट दिएपछि असन्तुष्टि चुलिएको छ ।

शुक्लाफाँटा त झनै बिजोग बनेको स्थानीय बताउँछन् । तीन महिनाअघि मात्रै एमाले छोडेर समाजवादी या माओवादी बन्छु भन्दै छलफल चलाएका रणबहादुर महरालाई एमालेले मेयरको उम्मेदवार बनाएको छ । एमाले नेता दामोदर भण्डारीको दबाबमा महरा उम्मेदवार बनेपछि उक्त क्षेत्रका सक्रिय नेता टेक हमाललगायत असन्तुष्ट बनेका छन् ।

एकातिर एमाले फुटेर एकीकृत समाजवादी बन्ने अवस्था र अर्कोतर्फ संगठनका इमानदार कार्यकतामाथि अन्याय गरिएपछि अहिले एमालेमा रहेको अधिकांश नेता तथा कार्यकर्ता निराश बनेका हुन् ।

संगठनमा काम गरेपछि मूल्यांकनका आधारमा पदोन्नति या लाभको अवसर पाउनुपर्ने बेला हिजो माओवादीबाट आएकाहरु हावी भएको देख्दा उनीहरुलाई चित्त बुझेको छैन । आफूमाथि गरिएको अन्याय चुपचाप सहेमा यस्तै व्यक्तिहरुले झनै पेल्ने भएकोले पनि अहिलेको निर्वाचनमा केन्द्रले गरेको अन्यायविरुद्ध लागिपर्ने उनीहरु बताउँछन् ।

images
प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - १२:३०:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology