Logo

सोमवार, आश्विन २६ गते २०८३

images

खानीखोलालाई विकासको खानी बनाउन छिन्ताङको उम्मेदवारी

खानीखोलालाई विकासको खानी बनाउन छिन्ताङको उम्मेदवारी

दैनिकी न्यूज

१८, बैशाख २०७९
खानीखोलालाई विकासको खानी बनाउन छिन्ताङको उम्मेदवारी
images

काभ्रे । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रबाट खानीखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ २०५२ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । जनयुद्धमा पूर्णकालीन बन्नुभएका उहाँ तत्कालीन सरकारबाट तीन वर्ष जेल जीवनसमेत बिताउनुभएको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाटै खानीखोला गाउँपालिका अध्यक्षमा उम्मेदवार बने पनि पराजित बन्नुभएका उहाँ यस थप जोश र जितको सुनिश्चिततासहित खानीखोला गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रबाटै उम्मेदवारी दिनुभएको छ ।

चुनावी एजेण्डा
खानीखोला निकै दुर्गम मानिएको क्षेत्र हो । त्यसैले यस क्षेत्रलाई सुगम गाउँपालिकाको रुपमा विकसित गर्ने र आर्थिक रुपले यहाँका जनतालाई सुखी र समृद्ध बनाउने उहाँका मुख्य एजेण्डा रहेको छ । त्यस्तै यहाँ उत्पादित कफीलाई बजारीकरण गरी जनताको आर्थिक श्रोतको मूल आधारमा रुपमा विकसित गर्ने, खानेपानी, शैक्षिक सुधार, यातायातको व्यवस्था लगायत भौतिक तथा आधारभूत आवश्यकतालाई पूर्ति गर्दै यहाँको सहरलाई नमुना सहरको रुपमा विकसित गर्ने, उन्नत जातका भैंसीहरु पालेर यहाँ उत्पादित दुधलाई दुई घण्टामा हेटौंडा पुग्ने गरी सडकको व्यवस्था मिलाउने तथा प्रदेश राजधानी हेटौंडा र जिल्ला सदरमुकाम धुलिखेलसम्म जोड्ने सडकको ट्रयाक ओपन मात्रै भएकाले त्यसलाई पनि कालोपत्रे गरी प्रदेश र राजधानी र सदरमुकामसँग यस क्षेत्रलाई सिधै जोड्ने उहाँ लक्ष्य रहेको छ ।

जितका आधारहरु
अघिल्लो स्थानीय निर्वाचनमा हाल व्यहोरिसक्नुभएका उम्मेदवार छिन्ताङ यसपटक जित हासिल गर्नेमा ढुक्क हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो संगठन पहिलेको तुलनामा मजबुत छ । मेरो एजेण्डा हिजो पनि त्यही थियो, आज पनि उही छ ।’ त्यस्तै अर्काे जितको आधार माओवादी केन्द्र र नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन रहेको उहाँ स्पष्ट पार्नुहुन्छ ।

भ्रष्टाचारको जरैदेखि नै निर्मुल पार्ने लक्ष्य
भौगोलिक हिसाबले दुर्गम मानिए पनि यहाँ भ्रष्टाचार व्याप्त छ । यहाँ व्याप्त भ्रष्टाचारको जरैदेखि नै निर्मुल पार्ने लक्ष्य रहेको छिन्ताङ बताउनु हुन्छ । भ्रष्टाचार निर्मुलीकरण सरकारको केन्द्रीय योजनाको राष्ट्रिय नीतिभित्र पर्ने भए पनि निर्मुलीकरणका लागि भने यहाँभित्र सुशासन कायम गर्ने, विकृति र विसंगतिलाई रोक्नका लागि स्थानीय तहबाट पहल गर्नेमा उहाँको जोड छ ।

images
प्रकाशित मिति :बैशाख १८, २०७९ आइतवार - १८:१२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology