Logo

सोमवार, आश्विन २६ गते २०८३

images

देशकै नमुना गाउँपालिका बनाउन दोस्रो कार्यकालको उम्मेदवारीः भुपाल पोखरेल

देशकै नमुना गाउँपालिका बनाउन दोस्रो कार्यकालको उम्मेदवारीः भुपाल पोखरेल

दैनिकी न्यूज

१७, बैशाख २०७९
देशकै नमुना गाउँपालिका बनाउन दोस्रो कार्यकालको उम्मेदवारीः भुपाल पोखरेल
images

गीता पाण्डे/गुल्मी । धुर्कोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार भुपाल पोखरेलले अधुरा र अपूरा कामहरु सम्पन्न गर्न आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ ।
अघिल्लो कार्यकालमा आफूले गाउँपालिकाको विकासका निम्ति जग बसालेको भन्दै त्यसलाई पूरा गर्न र देशकै नमुना गाउँपालिका बनाउन आफूले दोस्रो पटकका लागि पुनः उम्मेदवारी दिएको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएका पोखरेलले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा युवाहरुबाट परिवर्तन सम्भव छ भन्ने उदाहरण यसअघिकै कार्यकालमा प्रमाणित भएको बताउनु भयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानीकरण अनुदानका लागि १७ सूचकका आधारमा मूल्याङ्कन गर्दा धुर्कोट गाउँपालिका देशमै तेस्रो भएको थियो । १०० अंकमा धुर्कोट गाउँपालिकाले ७६ दशमलव ५४ अंक ल्याएको थियो । दोस्रो हुने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ७७ दशमलव ११ अंक ल्याएको थियो भने पहिलो हुने डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७८ दशमलव ६९ अंक ल्याएको थियो ।
गाउँपालिकामा अधुरा कामहरु पूरा गर्नका लागि पुनः यहाँका स्थानीयहरुको माग अनुसार नै आफ्नो उम्मेदवारी भएको उहाँको दाबी छ ।
पाँच बर्षको कार्यकालमा आफूले गाउँपालिकाभित्रका ८० प्रतिशत स्थानीयका घरमा एक घर एक धारा पुगेको, गाउँपालिकालाई गुल्मी जिल्लामै पहिलोपटक खरको छानामुक्त गाउँपालिका घोषणा गरेको, गाउँपालिकाको आफ्नो प्रशासकीय भवनसँगै सभाहलहरु निर्माण गरेको बताउनु भयो ।
युवाहरुलाई गाउँमै व्यावसायिक रुपमा कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउने, सडक सञ्जालहरुलाई स्तरोन्नतिसँगै कालोपत्रे गर्ने, बसाई सराइँको दरलाई कम गर्न सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय बनाई देशकै नमुना गाउँपालिका बनाउने उहाँले उद्घोष गर्नुभयो ।
उहाँको प्रतिस्पर्धामा नेपाली कांग्रेसका महेन्द्र भण्डारी अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ । अघिल्लो कार्यकालमा उहाँ नेपाली कांग्रेससँगको तालमेलबाट अध्यक्ष बन्नुभएको थियो ।
गुल्मीमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, चन्द्रकोट गाउँपालिकाकी उपाध्यक्ष, सत्यवती गाउँपालिकाका अध्यक्ष, मालिका गाउँपालिकाका अध्यक्ष, मदाने र इश्मा गाउँपालिकाका उपाध्यक्ष र धुर्कोट गाउँपालिकाका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेद्वार बन्नुभएको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - २०:२०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology