Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को

सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को

दैनिकी न्यूज

१४, बैशाख २०७९
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को
images

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दललाई आफ्नै बागी उम्मेदवार भारी हुने देखिएको छ । भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले गठबन्धनबाट मेयरमा दिएको उम्मेदवारीमा कांग्रेसले आफ्नो तर्फबाट बागी उम्मेदवार उठाएको छ ।

भरतपुरको मेयरमा कांग्रेसले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राख्दै आएको थियो । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । बागी दिएका पौडेलले उम्मेदवार फिर्ता नलिए योपटक माओवादी केन्द्रबाट मेयर बनेकी रेणु दाहाललाई निर्वाचन जित्न सकस पर्न सक्छ । कांग्रेसको भोट बागी उम्मेदवारको पक्षमा जाँदा जित्न कठिन हुन सक्छ ।

पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट मेयरमा दिएको उम्मेदवारीविरुद्ध कांग्रेसले बागी उम्मेदवारी दिएको छ । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । विमलबहादुर कार्की र ऋषि सापकोटा, नन्दुप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएका छन् ।

सत्तारूढ दलहरूबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागबन्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर, कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट रहँदै आएका छन् ।

महोत्तरीमा कांग्रेस–माओवादीकै बागी
महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भने पनि बर्दिवासमा दुवै दलका एकभन्दा बढी नेताले मेयरमा उम्मेदवार दिएका छन् ।

मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रकै नेता रुद्र सुस्लिङ मगरले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकामा कांग्रेसको बागी
मकवानपुरको मनहरी गाउँपालिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेस (बीपी) पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै सोही दलबाट कांग्रेस नेत्री जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । न्यौपानेले आफ्नो वडा मनहरी–४ मा कांग्रेसबाट कुनै पनि पदमा उम्मेदवारी नै नदिने अवस्था सिर्जना गरेका थिए ।

त्यस्तै, मकवानपुरको बाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

पूर्वी नवलपरासीमा कांग्रेसकै बागी
पूर्वी नवलपरासीका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले बुलिंटार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको बागी उम्मेदवार बनेका छन् । त्यहाँ पार्टीले यसअघिकै निर्वाचित गाउँपालिका प्रमुख शशिकिरण बस्ताकोटीलाई नै योपटक पनि अध्यक्षको उम्मेदवार बनाएको छ ।

भक्तपुरमा बागी उम्मेदवार
भक्तपुरमा सत्ता गठबन्धनको तालमेल र सहमति तोडिएको छ । कांग्रेससँग सहमति नभएपछि नेकपा ९माओवादी केन्द्र०ले पालिकाहरूमा गठबन्धनबाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए ।

गठबन्धन तोडिएपछि नेपाली कांग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा कांग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०बाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा कांग्रेसबाट निशान ढुंगेल, उपप्रमुखमा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुर थिमि नगरपालिका प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसीभक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदीप राई र उपप्रमुखमा पवित्रा चौलागाईं र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - ०६:१८:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology