काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई आइतवार पक्राउ गरेको छ ।
अख्तियारको टोलीले महतलाई सोवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घूस लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारले बताएको छ ।
गत साउन महीनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले बताएको छ ।