Logo

सोमवार, आश्विन २६ गते २०८३

images

आफ्नो स्थानीय तहको ठेक्कापट्टामा संलग्नले उम्मेदवारी दिन नपाउने

आफ्नो स्थानीय तहको ठेक्कापट्टामा संलग्नले उम्मेदवारी दिन नपाउने

दैनिकी न्यूज

८, बैशाख २०७९
आफ्नो स्थानीय तहको ठेक्कापट्टामा संलग्नले उम्मेदवारी दिन नपाउने
images


काठमाडौं । सर्वोच्च अदालतले आफ्नो स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको व्यक्तिले मात्र उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा ठेक्कापट्टामा संलग्न व्यक्तिले उम्मेदवार हुन नपाउने भन्ने प्रावधानमाथि परेको रिटउपर सर्वोच्चले सो आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासले बुधबार ठेक्कापट्टा भएको स्थानीय तहमा मात्रै उम्मेदवार हुन नपाइने आदेश जारी गरेपछि अन्यत्र ठेक्का लिएको भए उम्मेदवारी दिन रोकावट नहुने भएको छ ।

आफ्नो मतदाता नामावली भएको बाहेकका स्थानीय तहमा ठेक्का लिएको भए उम्मेदवारी दिन नरोकिने आदेशमा उल्लेख छ । कुनै पनि व्यक्ति आफ्नो व्यावसायिक कारोबार भइरहेको स्थानीय तहमा निर्वाचित हँुदा निर्णय प्रक्रियामा स्वार्थ बाझिने अवस्था सिर्जना हुने सर्वोच्चको फैसलामा उल्लेख छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा स्थानीय तहका ठेक्कामा संलग्न व्यक्तिले उम्मेदवारी दिन नपाउने निर्णय गरेको थियो । तर, ठेक्कापट्टा व्यवसाय गरेकै आधारमा स्थानीय तहको उम्मेदवार हुन रोक लगाउने आयोगको निर्णय संविधानअनुकूल नभएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

सर्वोच्चले स्वघोषणापत्रमा भएको कुनै पनि स्थानीय तहको ठेक्कापट्टासम्बन्धी व्यवहारमा संलग्न रहेको भनी व्यावसायिक सरोकार नरहेका स्थानीय तहमा समेत उम्मेदवार हुनबाट रोक लगाउने गरी निर्वाचन आयोगबाट भएको निर्णय प्रथम दृष्टिमा नै उचित तर्कमा आधारित भएको नदेखिएको बताएको छ ।

फैसलामा भनिएको छ– ‘कुनै कानुनले निषेध नगरेको र संविधान प्रदत्त पेशा व्यवसाय र रोजगार गर्न पाउने हकअन्तर्गत ठेक्कापट्टा व्यवसाय गरेकै आधारमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन रोक लगाउने गरी भएको निर्णयबाट निवेदकको नेपालको संविधानको धारा १७ द्वारा प्रदत्त वैयक्तिक स्वतन्त्रताको हक र धारा १८ द्वारा प्रदत्त समानताको हकलगायतका आधारभूत मौलिक हक अधिकारमा आघात पुगेको एवम् उक्त व्यवस्था नेपालको संविधानको धारा २१५, २१६, २२२ र २२३ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ र १३ अनुकूलसमेत देखिन नआएकाले उक्त व्यवस्थाको कार्यान्वयन भएमा यी निवेदक आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित भई निवेदकलाई अपुरणीय क्षति हुन जाने अवस्थाको विद्यमानता देखियो ।’ यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ०७:३७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology