काठमाडौं । चिनियाँ सरकारले निःशुल्क अनुदानमा निर्माण गरिदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्डको विस्तारका लागि स्वयम्भूमा रहेका २ वटा बिजुलीका टावर हटाइएको छ ।
चक्रपथ विस्तार गर्न साइट क्लियरिङअन्तर्गत स्वयम्भू र सानो भर्याङमा रहेका २ वटा ६६ केभीका टावर नेपाल विद्युत् प्राधिकरणले हटाएको हो ।
प्राधिकरणले टावरका लागि आवश्यक उपकरण दोस्रो मुलुकबाट आयात गरी हटाउने काम गरेसँगै अब दोस्रो खण्डको चक्रपथ विस्तारका लागि साइट क्लियरिङको काम सम्पन्न भएको छ ।
गत पुस पहिलो हप्ता चिनियाँ प्राविधिक टोलीले स्थलगत भ्रमणका क्रममा सो टावर नहटाएकोप्रति प्रश्न उब्जाएका थिए । नेपाली पक्षले टावर हटाउने क्रममा रहेको भन्दै चिनियाँ पक्षलाई आश्वस्त पारेको थियो ।
चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लिअर अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्रयाक बनाउनुपर्ने हुन्छ ।
दोस्रो खण्डअन्तर्गत कलंकीदेखि चक्रपथसम्म विस्तार गर्ने लक्ष्य राखेकोमा बिजुलीका टावर हटाएसँगै स्वयम्भूमा मन्दिर रहेको स्थानबाहेक सबै ठाउँमा साइट क्लियरिङको काम सम्पन्न भएको छ । आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भूमा पुरातात्विक सम्पदाले केही समस्या देखिए पनि सम्पदाको हकमा ‘कन्सिडरेसन’ हुने देखिएको बताएका छन् ।
काठमाडौंको चक्रपथअन्तर्गत दोस्रो सडकखण्ड कलंकी–महाराजगञ्जको विस्तारका लागि गत पुस पहिलो हप्ता चिनियाँ प्राविधिक टोलीले स्थलगत निरीक्षण नै गरेको थियो । स्थलगत निरीक्षणको क्रममा शतप्रतिशत साइट ‘क्लीअर’ नभएपछि चिनियाँ पक्षले सडक विस्तारको काम शुरू गर्न आनाकानी गर्दै आएको थियो ।
४ सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगञ्जसम्मको करीब ८।५ किलोमिटर सडकको स्थलगत अध्ययन गरेर साइट क्लीअर भएको प्रतिवेदन चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई दिएसँगै कम्पनीले काम थाल्ने जनाइएको थियो तर चिनियाँ प्राविधिक टोली निरीक्षणपछि विस्तार गरिने सडकको साइट क्लीअर नभएको रिपोर्ट बोकेर फर्कन बाध्य भएको थियो ।
सम्झौताअनुसार नेपाल पक्षले साइट क्लीअर गरेर विस्तारका लागि चिनियाँ पक्षलाई जिम्मा दिनुपर्नेमा नेपाल पक्षले शतप्रतिशत साइट क्लीअर गर्न नसक्दा चक्रपथ विस्तारको काम नै शुरू हुन सकेको थिएन । अब साइट क्लिअरको काम सम्पन्न भएकाले चिनियाँ पक्ष आएसँगै काम अघि बढ्ने भएको छ ।
तर वर्षा शुरू हुन लागेकाले वर्षाअघि नै आयोजनाको काम शुरू हुने सम्भावना कमजोर बन्न थालेको छ । आयोजना प्रमुख मरासिनी पनि अब वर्षापछि नै आयोजनाको काम शुरू हुने सम्भावना बढी रहेको बताउँछन् ।
चक्रपथ विस्तारअन्तर्गत महाराजगञ्जमा २४० मिटर खण्डको क्षेत्रको मुआब्जा विवाद टुंगिन सकेको छैन । सडक विभागका प्रमुख शिवहरि सापकोटाले विवाद टुंगिन बाँकी रहेको बताए । आयोजना प्रमुख मरासिनीले दोस्रो खण्डअन्तर्गत पहिले धोवीखोलासम्म करीब साढे ११ किमी सडक विस्तार गर्ने भनिए पनि अहिले ८।५ किलोमिटर सडक विस्तार गर्ने भएपछि सो क्षेत्र तेस्रो चरणमा पर्ने देखिएकाले अहिले सडक विस्तार गर्न समस्या नरहने बताउँछन् ।
नेपाल सरकारले २०७६ पुस १८ गते नै उक्त खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिइसकेको छ तर अझै हल हुन सकेको छैन । सरकार पनि विवादित विषय हल गर्नेमा गम्भीर नबनेको पाइएको छ । राजधानीमा खबर छ ।