काठमाडौं । सातवटा स्थानीय तह रहेको जाजरकोटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाका चारवटा पालिकामा सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ ।
भेरी नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिकामा एमालेले उम्मेदवारको टुङ्गो लगाएको हो ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा तीनवटा पालिकामा जित हासिल गरेको एमालेले भेरी नगरपालिकामा भने वर्तमान नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई नै दोहोर्याउने निर्णय गरेको छ ।
उक्त पालिकामा उपप्रमुख सावित्रा चन्दलाई समेत चयन गरिएको छ । गठबन्धनमा रहेका दलबीच तालमेलको बहस सुरु भएपछि नेकपा एमालेले केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्तीलाई चुनावी मैदानमा उतारेको हो ।
यसअघि काँग्रेसले जितेको बारेकोट गाउँपालिकामा एमालेले वीरबहादुर गिरीलाई अध्यक्ष र गीता सिंहलाई उपाध्यक्षको उम्मेदवार बनाउने टुङ्गो लगाएको छ ।
कुशे गाउँपालिकामा प्रेमप्रसाद घर्ती र टीका वली ९बीसी०लाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाउने एमालेले जनाएको छ ।
यस्तै, जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा वेदबहादुर शाहीको नाम टुङ्गो लगाएको छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष खिमबहादुर शाहीले अबको केही दिनमा अन्य पालिका र वडाध्यक्षदेखि सदस्यसम्म सबैको टुङ्गो लाग्ने बताए । गोरखापत्र दैनिकमा खबर छ ।