Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सरुवा–बढुवाका रिट सर्वोच्चमा दर्ता नगर्न सुझाव

सरुवा–बढुवाका रिट सर्वोच्चमा दर्ता नगर्न सुझाव

दैनिकी न्यूज

२१, चैत्र २०७८
सरुवा–बढुवाका रिट सर्वोच्चमा दर्ता नगर्न सुझाव
images

काठमाडौँ  । न्याय सम्पादन प्रक्रियालाई छिटो, छरितो र प्रभावकारी बनाउन आवश्यक सुधारको मस्यौदा पेस गर्न गठित समितिले मौजुदा २३ ऐन संशोधनको प्रस्ताव गरेको छ ।कानुन मन्त्रालयका सहसचिव सुशील कोइरालाको संयोजकत्वमा गठित उपसमितिले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदनमा अदालतको क्षेत्राधिकारसँग सम्बन्धित ४८ मध्ये २३ वटा ऐन संशोधनको प्रस्ताव गरिएको छ । संशोधन प्रस्तावको तीन महले विवरणसहितको प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिवेदनमा सर्वोच्च अदालत ऐन, न्याय प्रशासन ऐन, राजस्व न्यायाधीकरण ऐन, न्यायपरिषद् ऐन, प्रशासकीय अदालत ऐन र अन्य प्रचलित विशेष ऐनहरू संशोधनको प्रस्ताव गरिएको छ । प्रतिवेदनमा सुझाव अनुसारको व्यवस्था संशोधन भएमा अदालतहरूमा घट्ने कार्यबोझको पनि प्रतिशतमा अनुमानित गरिएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री बडुले मौजुदा व्यवस्था संशोधन गरेर न्याय प्रक्रिया पारदर्शी बनाउन प्रयत्न गरिएको बताउनुभयो । उहाँले फैसलाको कार्यविधिलाई अनुमानयोग्य बनाउने अवस्था बनाइनुपर्नेमा पनि जोड दिनुभयो । फैसलाको कार्यविधि अनुमानयोग्य भएमा अदालतको जनआस्थासमेत वृद्धि हुने उहाँको भनाइ छ ।

केमा संशोधन प्रस्ताव ?
समितिले पेस गरेको सुझावमा न्यायालयको कार्यबोझ घटाउने र कानुनी छिद्रहरूको पहिचान गर्ने विषयमा केन्द्रित छ । सर्वोच्च अदालतको कार्यबोझ कम गर्ने विषयमा प्रतिवेदन बढी केन्द्रित छ । अहिले उच्च अदालतको सुरु क्षेत्राधिकार मानिएका केही मुद्दामा सुुनुवाइको अधिकार जिल्ला तहमा लैजाने, रिट क्षेत्राधिकारमा कडाइ गर्नेलगायतका प्रस्ताव गरिएका छन् । प्रस्तावित व्यवस्था संशोधनका लागि भने संसदीय प्रक्रियामा लैजानुपर्ने हुन्छ ।

समितिले सर्वोच्च अदालतका न्यायाधीशलाई प्रशासकीय काम, समिति वा कार्यदलमा बस्न नपाउने गरी सर्वोच्च अदालत ऐन संशोधनको प्रस्ताव गरेको छ । ऐनको दफा ४ ९ख० संशोधनको प्रस्ताव गरिएको छ । नेपालको संविधानले नै न्याय प्रशासनसँग सम्बन्धित कामकाज गर्न न्यायाधीशलाई अनुमति दिएको छ । प्रतिवेदनमा भने यस्ता काममा बन्देज लगाउन प्रस्ताव गरिएको छ ।

यस्तै सरुवा बढुवालगायतका रिटलाई प्रशासकीय अदालतको क्षेत्राधिकारअन्तर्गत हुनेगरी कानुन संशोधनको सुझाव पनि समितिको छ । रिट दर्ताअघि वैकल्पिक उपचार अवलम्बन नगरेमा रजिस्टारको आदेशबाट दरपीठ गर्नसक्ने गरी सर्वोच्च अदालत ऐन संशोधनको सुझाव समितिले दिएको छ । समितिले न्याय प्रशासन ऐनका धेरै व्यवस्था संशोधनका लागि सुझाव दिएको छ । दोहो(याई हेर्ने मुद्दाको निस्सा दिने वा नदिने निवेदनको सुनुवाइ उच्च अदालतबाटै गर्नेगरी न्याय प्रशासन ऐनको दफा ८ संशोधन गर्न सुझाव समितिले दिएको छ । उच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासबाट निस्सासम्बन्धी निर्णय गर्न उपयुक्त हुने सुझाव समितिको छ ।

सर्वोच्चको कार्यबोझ घटाउन भन्दै समितिले सात वर्ष वा सोभन्दा बढी कैद सजाय भएका र ५० लाख रुपियाँभन्दा बढी बिगो भएका मुद्दा मात्र सर्वोच्चमा पुनरावेदन लाग्ने व्यवस्थाका लागि ऐन संशोधनको सुझाव दिइएको छ । मुद्दा दोहो¥याई पाऊँ भन्ने निवेदनलाई पनि उच्च अदालत तहबाटै प्रारम्भिक सुनुवाइको प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा रिटमा जारी हुने अन्तरिम आदेश संयुक्त इजलासबाट गर्न उपयुक्त हुने सुझाव दिइएको छ । दुवै पक्षका कुरा सुनेर निर्णयमा पुग्न उपयुक्त हुने भन्दै यस्तो प्रस्ताव गरिएको छ । अहिले एकल इजलासले प्रारम्भिक सुुनुवाइमै अन्तरिम आदेश जारी गर्ने अधिकार छ तर त्यस्तो एकपक्षीय सुनुवाइको आदेश बदरको माग गरेर दोस्रो पक्षले निवेदन दिन पाउने व्यवस्था छ । यो खबर गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - ०५:२४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology