ललितपुर । नेकपा (माओवादी केन्द्र) महालक्ष्मी नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माओवादी केन्द्र महालक्ष्मी नगरपालिकाको आयोजनामा शनिवार सिद्धिपुरमा कार्यक्रम सम्पन्न गरिएको माओबादी केन्द्र महालक्ष्मी नगरपालिकाले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले कार्यक्रमलाई प्रशिक्षण गर्दै आसन्न बैशाखमा ३० गते हुन लागेको स्थानीय तहको चुनावमा ललितपुर जिल्लाको सवै स्थानीय तहहरु जित्ने गरि सबैले तयारी गर्नुपर्ने समय आएको बताए । सबैले जनताको सामु गएर निर्वाचनको तयार गर्न निर्देशन समेत दिए । कार्यक्रममा निर्वाचनलाई लक्षित गरी टोलटोलका कार्यकर्ता परिचालन गर्ने, संगठन विस्तार तथा सडृढीकरण अभियान निरन्तर चलाउने, माओवादी केन्द्रका एजेण्डा तथा राम्रा कामहरु र माओवादी केन्द्रले नेतृत्व गरिरहेको स्थानीय तहहरुले गरेका विकास निर्माणका राम्रा कामहरुको बारेमा आम नागरिकहरुलाई जानकारी गराउन उनले निर्देशनसमेत दिए ।
प्रशिक्षणलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहालले देश माओवादीको एजेण्डामा अघि बढेको उल्लेख गर्दै कुनै पनि बाहना माओवादी पछाडि नफर्कने उल्लेख गरे ।

माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक शिवप्रसाद कट्टेलले कार्यकर्ताको ठूलो त्याग, तपस्याबाट पार्टी निर्माण भएको भन्दै ससाना लोभ देखाउँदैमा पार्टी कार्यकर्ता दायाँ बायाँ गर्न नहुने उल्लेख गरे । केही नेता कार्यकर्तामा वैचारिक विचलन देखिएको बताउँदै उनका पछाडि नलाग्न आग्रह गरे । केही मान्छे जनयुद्धलाई नबुझ्दा पद पैसामा बिक्ने क्रम बढेकोले त्यो धेरै दिन नटिक्ने उल्लेख गरे । सो अवसरमा जिल्लामा सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचनमा गबन्धन गर्ने विषयमा प्रारम्भिक छलफल भएको सो अवसरमा जानकारी दिए ।
माओवादी केन्द्र महालक्ष्मी नगरपालिका अध्यक्ष श्यामकृष्ण महर्जनका अध्यक्षतामा भएको थियो । भेला तथा प्रशिक्षण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका माओवादी केन्द्रमा आवद्ध कमिटीका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका भित्रका वडा न. १ देखि १० वडाका अध्यक्ष, सचिव, सदस्य तथा माओबादी केन्द्र पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन माओवादी केन्द्र महालक्ष्मी गाउँपालिकाका सचिव रामहरि बजगाईले गरेका थिए ।