काठमाडौं । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए ।
चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए ।
मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या आएपछि अड्किएका पाँच बालबालिकासहित ३७ जनाको प्रहरीको प्रयासमा उद्धार गरिएको छ । केबलकारमा यात्रु फसेको सूचनापछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वमा प्रहरी टोली, थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुलेन्ससहित डाक्टर, नर्ससहितको टोली उद्धारका लागि केबलकार स्टेसन पुगेको थियो ।
त्यति मात्र होइन सम्भावित दुर्घटना हुन नदिन तथा यात्रुको सकुशल उद्धारका लागि जिल्ला दैवीप्रकोप तथा उद्धार समितिको प्राविधिक सहितको टोली पनि तयारी अवस्थामा राखिएको थियो । केबलकारमा प्राविधिक समस्या आएको भनिए पनि विद्युत् प्रवाह नै बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवाह गर्ने जेनेरेटरमार्फत केबलकार सञ्चालन गर्ने प्रयास पनि सफल भएन ।
पटक पटकको प्रयास सफल हुन नसकेपछि कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबल ९केबलकार तलमाथि गर्ने लाठो०लाई घुमाएर डेढ घण्टापछि यात्रुको उद्धार गरिएको थियो । माथिल्लो भागमा रहेका यात्रुलाई चन्द्रागिरि मन्दिरतर्फबाट र बीचमा अड्किएका ३७ जना यात्रुलाई थानकोटतर्फको स्टेसनबाट उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।
चन्द्रागिरि हिल्स प्रालिले भने विद्युत् प्रवाहमा गडबडी हुँदा केहीबेर केबलकार रोकिएको भन्दै घटना सामान्य रहेको दाबी गरेको छ । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले विद्युतीय स्विचमा समस्या आएको र केही बेरमै सो समस्या समाधान भएको बताए । विद्युत् प्रवाह बन्द भएपछि केहीबेर मात्र केबलकार बन्द भएको र म्यानुअल जेनेरेटर सञ्चालन गरी यात्रुलाई सुरक्षित रूपमा स्टेसनसम्म पु(याइएको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणबाट हुने विद्युत् आपूर्तिमा समस्या आएका कारण सामान्य घटना भएको उनले उल्लेख गरे । प्राधिकरणले भने मङ्गलबार केबलकार सञ्चालन हुने चन्द्रागिरि आसपासका क्षेत्रमा नियमित विद्युत् प्रवाह भएको जनाएको छ । प्राधिकरण कुलेश्वर वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले प्राधिकरणका तर्फबाट कुनै पनि त्रुटि नभएको बताए । गोरखापत्र दैनिकमा मित्र भण्डारीले खबर लेखेका छन् ।