काठमाडौं्र । काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न भने केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र बनाइने कांग्रेसको निर्णय छ ।
गत शुक्रबारबाट जारी केन्द्रीय समिति बैठक स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गर्दै मंगलबार सकिएको हो ।
कांग्रेसभित्र स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा पक्षविपक्षमा बहस हुँदै आएको थियो । तर, केन्द्रीय समिति बैठकमार्फत भने कांग्रेसले सर्वसम्मत रूपमा नै तालमेलको निर्णय गरेको हो । जारी बैठकमा तालमेलबारे निर्णय गर्न कठिन भएपछि मंगलबार बसेको केन्द्रीय समिति बैठकअघि शीर्ष तहमा छलफल भएको थियो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरूबीच तालमेल गर्ने निर्णय भएको जानकारी दिए । ‘बैठकले सर्वसम्मत रूपमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ, अब गठबन्धनभित्रबाट पनि सर्वसम्मत रूपमा तालमेलको निर्णय हुन्छ,’ नेता पौडेलले भने ।
कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले केन्द्रीय समिति बैठक र शीर्ष नेताहरूको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने विषयमा सर्वसम्मत रूपमा निर्णय गरेको जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।