Logo

सोमवार, आश्विन २६ गते २०८३

images

गठबन्धनको पक्षमा निर्णय गर्दै कांग्रेस, देउवा–पौडेलको एउटै मत

गठबन्धनको पक्षमा निर्णय गर्दै कांग्रेस, देउवा–पौडेलको एउटै मत

दैनिकी न्यूज

१५, चैत्र २०७८
गठबन्धनको पक्षमा निर्णय गर्दै कांग्रेस, देउवा–पौडेलको एउटै मत
images

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आजको केन्द्रीय समिति बैठकबाट गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जाने निर्णय लिने भएको छ। मुख्यतः माओवादीको सहयोगमा सत्ताको नेतृत्वमा पुगेको कांग्रेसमा चुनावी गठबन्धनबारे केही विवाद देखिए पनि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन कायमै राख्ने अडानमा दृढ भएपछि कांग्रेसले गठबन्धनमै निर्वाचनमा जाने निश्चित देखिएको हो।

कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा बस्ने आजको बैठकले देउवाको अडानलाई काट्न सक्ने देखिँदैन । नेपाली कांग्रेसले माओवादीले लगाएको गुन भुल्न हुँदैन भन्ने देउवाको भनाई रहेको बताउँदैै एक केन्द्रीय सदस्यले भने, ‘कांग्रेसले यतिबेला गठबन्धनको विरुद्धमा निर्णय लिनु आत्मघाती हुनेछ।’

उनका अनुसार केही नेताहरुले माओवादीले विगतमा आफूहरुलाई धोका दिएको तर्क गरेर चुनावी गठबन्धनको विपक्षमा जानुपर्ने भनाई राखेको भए पनि देउवाले विगत बिर्सेर माओवादीसँग गठबन्धन गर्नुपर्ने बताउँदै आएका छन् । देउवाले विगतमा माओवादीले आफूलाई समेत गोली हानेको भन्दै उनले पुराना कुरा भुलेर माओवादी केन्द्रसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस सभापति देउवाले आसन्न स्थानीय तहमा मात्र होइन, आगामी प्रदेश र संघको निर्वाचनसम्म चुनावी गठबन्धन गर्ने स्पष्ट संकेत गरेका छन्। देउवालाई कांग्रेस भित्रकै प्रतिपक्षी नेताको रुपमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ छ । वरिष्ठ नेता पौडेलले सोमबारको बैठकमा सभापति देउवाभन्दा अघि बढेर गठबन्धनको पक्षमा अभिव्यक्ति दिएका छन् । नेकपा एमालेलाई साइजमा राख्न तथा केपी शर्मा ओलीको दम्भलाई परास्त गर्न माओवादी र एकीकृत समाजवादीलाई चिढ्याउन नहुने पौडेलको तर्क छ ।

पौडेलले भनेका छन्, ‘ओलीलाई थप बलियो बनाउने काम गर्नहुन्न । बरु प्रचण्ड–माधवलाई अलि अलि मत थपेर कांग्रेसले सहयोग गर्नुपर्छ, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ लिएर भए पनि ओलीलाई साइजमा राख्नुपर्छ।’

पार्टी प्रवक्ता प्रकाश शरण महतले पनि कांग्रेसले गठबन्धनकै पक्षमा निर्णय लिने दावी गरेका छन्। उनको भनाई छ, ‘अधिकांश साथीहरुले आवश्यकताको आधारमा गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र आउने संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने परिस्थिति निर्माण हुन सक्ने सुझाव दिनुभएको छ अब गठबन्धनमै जाने निर्णय हुन्छ।’

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १४:२३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology