Logo

सोमवार, आश्विन २६ गते २०८३

images

नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा

नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा

दैनिकी न्यूज

१५, चैत्र २०७८
नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा
images

काठमाडौं । नेपालको तीनदिने भ्रमण सम्पन्न गरी चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको विश्लेषण कूूटनीतिक क्षेत्रको छ । यस भ्रमणले एक–अर्कामा कुनै पनि संशय अन्त्य गर्न मद्दत मिलेको राय राजनीतिक विश्लेषकको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय कूटनीतिक सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य, एक–अर्काको समान हैसियतलाई प्राथमिकता दिँदै आएको छ ।

चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य भन्छन्, “चीनका विदेशमन्त्री वाङ नेपाल बुझेका राजनीतिज्ञ हुनुहुन्छ । नेपाल र नेपालीप्रति सद्भाव राख्नुहुन्छ भन्ने कुरा मैले उहिल्यै चाल पाएको थिएँ ।” उनले करिब २४ वर्षअघि वाङसँग समकक्षीको भूमिकाका काम गर्दाको अनुभव स्मरण गर्दै भने, “वाङ नेपाल मामिलामा अधिक जानकारी राख्नुहुन्छ ।”

नेपाल–चीन सम्बन्ध कसैले चाहेर पनि तोडिन नसक्ने आचार्य बताउछन्। उनी भन्छन्, “नेपालको सार्वभौमिकताको सम्मानमा चीनले नेपाललाई पहिलो प्राथमिकतामा राख्छ । अनि एक चीन नीतिप्रति नेपाल सदैव अडिग रहन्छ ।”


अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ०एमसीसी० अनुमोदनपछि विभिन्नखाले टीका–टिप्पणी चलिरहेको सन्दर्भमा यो भ्रमणले शङ्का निवारणमा मद्दत पुगेको छ । नेपालमा चीनविरोधी गतिविधि सञ्चालन हुन्छ कि भन्ने मित्रराष्ट्र चीनको शङ्कालाई यो भ्रमणले अन्त्य गरेको छ ।


पूर्वराजदूत आचार्यका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ पक्षको त्यसखालको शङ्कामा निश्चिन्त पार्ने प्रयास गरे ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक चीन नीतिप्रतिको प्रतिबद्धतापछि चिनियाँ पक्षमा रहेको शङ्का अन्त्य गरेको उनी बताउछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ०६:४६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology