Logo

सोमवार, आश्विन २६ गते २०८३

images

पानीको भारी बोकाएर पठाएका जनप्रतिनिधि पुनः गाउँ फर्कँदा मालाको भारी

पानीको भारी बोकाएर पठाएका जनप्रतिनिधि पुनः गाउँ फर्कँदा मालाको भारी

दैनिकी न्यूज

१०, चैत्र २०७८
पानीको भारी बोकाएर पठाएका जनप्रतिनिधि पुनः गाउँ फर्कँदा मालाको भारी
images

हेटौंडा – पानीको मुहान तल, बस्ती छ डाँडामा । राक्सिराङ गाउँपालिका–८ नम्बर वडास्थित महांकालका स्थानीयले खानेपानी लिनको लागि करिब २ घण्टाको उकालो ओरालो हिँड्नुपर्ने बाध्यता थियो । स्थानीयले वर्षौदेखि खानेपानीको विकराल समस्या भोगिरहेका बेला गाउँमा २ वर्षअघि जनप्रतिनिधिको टोली नै पुग्यो । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न गएका जनप्रतिनिधिलाई स्थानीयले आफ्ना समस्या मात्रै देखाएनन्, समस्या समाधान गर्न रचनात्मक दबाब पनि दिए । जनप्रतिनिधि र नेताको टोलीलाई उकालोमा पानीको गाग्री नै बोकाइदिए ।
आफैंले उकालोमा डोकोमा पानीको गाग्री बोकेर स्थानीयको पीडा महसुस गरेका जनप्रतिनिधि र नेताहरुले गाउँमा जसरी पनि खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता गरेर फर्किए । अहिले गाउँमा खुसीयाली छाएको छ । राक्सिराङ गाउँपालिकाले तत्कालै १६ लाख रुपैयाँ बजेट विनियोजन गरी गाउँमा खानेपानीको व्यवस्था गरिदियो । सोलार पम्पिङमार्फत बन्जीडाँडा खोलाबाट डाँडामा पानी तानेर स्थानीयलाई वितरण गरिएको छ । १५ घरधुरी रहेका महांकालमा ४ वटा धारामार्फत खानेपानी वितरण गरिएको छ ।

IMG20220323124117.jpg
दुइवर्षअघि स्थानीयको समस्याको भारी बोकेर फर्किएका जनप्रतिनिधि र नेताहरु बुधबार पुनः महांकाल फर्किँदा स्थानीयबासी फूलमाला र अबिर बोकेर भव्य स्वागतमा उत्रिए । आफूहरुको वर्र्र्षौदेखिको समस्या समाधान भएकोमा उनीहरु अति हर्षित थिए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको टोली गाउँमा पुगेर स्थानीयसँग खुसी साटासाट गरे । स्थानीयको घरछेउमै ठडिएको धाराबाट पानी थापेर घरभित्रैसम्म पु¥याइदिए, पानी छ्यापाछ्याप गरेर खुसी बाँडे ।
स्थानीयबासीसमेत रहेका वडा सदस्य जयबहादुर तितुङले खानेपानीको समस्या समाधान भएसँगै स्थानीयको जीवनस्तर नै फेरिएको बताए । ‘हरेक दिन २ खेप पानी बोक्दासम्म आधा दिन भइसक्थ्यो । अरु काम गर्ने फुर्सदै हुँदैनथ्यो । अहिले घर नजिकै धारा झर्दा बारीमा तरकारी रोप्नेदेखि अरु काम गर्न पाएका छौं ।’ तितुङले भने । गाउँपालिकाले १६ लाख रुपैयाँ विनियोजन गरेकामा उपभोक्ताको समेत श्रमदानबाट खानेपानी आयोजनाको लागत करिब ३० लाख पुगेको उनले बताए ।  
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले स्थानीयको समस्या समाधान गर्न आफूहरु सँधै तयार रहेको बताए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरुले भनेर होइन गरेर देखाउने बताए । आफूहरु जनप्रतिनिधि भएर आएपछि गाउँका हरेक टोलमा महसुस हुने गरी विकास गरिएको उनले दावी गरे । १५ घरको लागि अहिले सामुहिक प्रयोगको लागि ४ वटा धारामार्फत पानी वितरण गरिएकोमा अब घरघरमै धारा जडान गर्नको लागि बजेटको व्यवस्था गरिने पनि उनले बताए ।     

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - ०६:३७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology