काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदालत पुगेको थियो।
सो मुद्दा आज न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र डा। कुमार चुडालको इजलासमा परेको छ। यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो।
एमालेले साउन २५ को निर्णयअनुसार कारबाहीको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो। तर, सभामुखले सूचना टाँस नगरेपछि एमालेबाट विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेको थिए।
सभाभुख सापकोटाले भने कानुनअनुसार १५ दिनभित्र सूचना टाँस गर्न पाउने अधिकार छ। त्यसै अधिकारलाई प्रयोग गरेर सभामुख सापकोटाले १३ दिनका दिन यस विषयमा कुनै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना निकालेका थिए।
एमालेले आफूले कारबाही गरी हटाइएका व्यक्तिहरूलाई सभामुखले फरक पार्टीको नामबाट मान्यता दिएको भन्दै उक्त कदम नसच्चिएसम्म संसद् अवरोध जारी राख्ने बताएको छ । त्यसैको विरोधमा एमालेले लामो समयदेखि संसद् बैठकमा अवरोध गरिरहेको छ ।