Logo

सोमवार, आश्विन २६ गते २०८३

images

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

दैनिकी न्यूज

२७, फाल्गुण २०७८
रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने
images

काठमाडौं । होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदनले डिस्को–क्लब, पप तथा लाइभ बार, डान्स, दोहोरी र गजललगायतलाई पर्यटनमूलक व्यवसायमा राखेको छ । सामान्य अवस्थामा चौबीसै घण्टा सञ्चालनको वातावरण मिलाउन निर्देशन भएको प्रवक्ता पोखरेलले बताए।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रहरी, व्यवसायी र पेसाकर्मीसँग समन्वय गरी शान्तिपूर्ण र सुरक्षित ढङ्गले सञ्चालनको वातावरण मिलाउनु पर्नेछ । सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकूल नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने जारी आचारसंहितामा उल्लेख छ ।

प्रत्येक व्यवसाय प्रचलित कानुनबमोजिम आवश्यक दर्ता प्रक्रिया पूरा गरी सञ्चालन हुनुपर्ने छ । अश्लील नृत्य पूर्ण रूपमा निषेध गरी मौलिक र सीपमूलक नृत्यहरू प्रस्तुत गरी आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने मनोरञ्जन प्रदान गर्नुपर्ने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - ०६:३७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology