Logo

सोमवार, आश्विन २६ गते २०८३

images

चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार

चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार

दैनिकी न्यूज

२७, फाल्गुण २०७८
चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार
images

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।

कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने बोलेको छैन ।

कांग्रेसभित्र १४औं महाधिवेशनपछि इतर पक्षको नेतृत्व गर्दै आएका डा। शेखर कोइरालाले कांग्रेस कसैलाई जिताउन स्थानीय तहको निर्वाचनमा तालमेल गर्न अघि सर्न नहुने बताउँदै आइरहेका छन् । उनकै आशयलाई कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि साथ दिँदै आइरहेका छन् ।

तर, सभापति शेरबहादुर देउवाले भने तीनै तहको निर्वाचनमा सत्ताधारी दलबीच तालमेल हुने संकेत गरेका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले निर्वाचनमा गठबन्धनबीच तालमेल हुन्न भनेर कसैलाई नचिढ्याउन पार्टीका नेताकार्यकर्तालाई निर्देशन नै दिए ।

‘गठबन्धनका साथीहरूको सहयोगले म प्रधानमन्त्री भएको हुँ, कांग्रेस सरकारको नेतृत्वमा पुगेको हो, गठबन्धनका साथीहरूलाई बेवास्ता गर्न मिल्दैन, बोल्दा कसैलाई पनि नचिढ्याउँ,’ देउवाले सम्बोधनका क्रममा भने ।

सो क्रममा उनले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन आबद्ध दलहरूबीच तालमेलका विषयमा छलफल हुने भन्दै वर्तमान निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने दाबी गरे ।

‘संविधानअनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ, एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं, गठबन्धनबीच तालमेल भए केही ठाउँमा समस्या होला तर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं,’ देउवाले भने ।

कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासमेत आगामी निर्वाचनमा गठबन्धन आबद्ध दलबीच तालमेल हुनुपर्ने पक्षमा छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट आगामी निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने नगर्ने विषयमा निर्णय गर्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको भनाइ छ ।

उनले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकारसम्मेलनमा बोल्दै कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकले तालमेल’दयगत निर्णय लिने भनेका थिए ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - ०६:१४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology