Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एकमहिने चुनावी अभियानको अन्तिम तयारीमा कांग्रेस

एकमहिने चुनावी अभियानको अन्तिम तयारीमा कांग्रेस

दैनिकी न्यूज

२५, फाल्गुण २०७८
एकमहिने चुनावी अभियानको अन्तिम तयारीमा कांग्रेस
images

काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागेको एकमहिने अभियानको अन्तिम तयारीमा जुटेको छ । यही फागुन २९ गतेदेखि कांग्रेसले ‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियान सञ्चालन गर्न लागेको छ ।

यो अभियानलाई कांग्रेसले संगठन सुदृढीकरण अभियानका रूपमा समेत लिएको छ । एकमहिने अभियान सञ्चालनको अन्तिम तयारीका रूपमा कांग्रेस सभापतिसहित शीर्ष नेताहरूले मगलबार पनि छलफल गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गत २० गतेदेखि नै यो अभियान सञ्चालन गर्ने भनिए पनि स्थगित भएको थियो ।

एकमहिने अभियानका साथ स्थानीय निर्वाचनको प्रचारबारे मंगलबार भएको शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको थियो । बैठकमा सहभागी एक नेताले जानकारी दिएअनुसार सभापति देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि राम्रो व्यवहार गर्न निर्देशन दिनुभएको थियो ।

‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियानकै दौडानमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुदान सहायता सम्झौताको बारेमा रहेको भ्रमका बारेमा पनि आम जनतालाई बुझाउने पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनुभएको छ । अभियानको दौडानमा सबै जिल्लामा एक÷एक जना केन्द्रीय सदस्य प्रतिनिधिका रूपमा खटाइने पनि कांग्रेसले जनाएको छ ।

स्थानीय निर्वाचन नजिकिए पनि कांग्रेसले उम्मेदवार चयन गर्ने संसदीय समिति भने अझै गठन गरेको छैन । केन्द्रीय संसदीय समितिले काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार निर्णय गर्नुपर्ने हुन्छ भने ११ उपमहानगरपालिकासहित २ सय ७६ नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ । त्यसअनुसार ४ सय ६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवार टुंग्याउनुपर्ने हुन्छ । अध्यक्ष र उपाध्यक्ष गरी जिल्ला संसदीय समितिले ९ सय २० उम्मदेवार चयन गर्नुपर्ने छ । प्रतिनिधि सभा संसदीय समितिले देशभरका वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्नुपर्नेछ ।

कांग्रेसभित्र स्थानीय निर्वाचनको एकमहिना अघि नै सबै उम्मेदवारका लागि टिकट वितरण भइसक्नुपर्ने भन्दै पार्टी नेतृत्वमाथि दबाब बढिरहेको छ । अघिल्लो निर्वाचनमा उम्मेदवारी दर्ताको बिहानसम्म पनि कतिपय स्थानीय तहमा उम्मेदवार टुंगो लागेको थिएन । मतदान गर्नुभन्दा एक महिनाअघि नै उम्मेदवार टुंगो लगाए उम्मेदवार स्वयम्लाई पनि प्रचारप्रसारमा प्रशस्त समय हुने बताइएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ०६:५७:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology