Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बजारमा खानेतेलको कृत्रिम अभाव

बजारमा खानेतेलको कृत्रिम अभाव

दैनिकी न्यूज

२३, फाल्गुण २०७८
बजारमा खानेतेलको कृत्रिम अभाव
images

काठमाडौं । बजारमा खानेतेलको कृत्रिम अभाव भएको उपभोक्ताको गुनासो छ । खानेतेलको कृत्रिम अभावले कालोबजारी बढ्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

हाल रूस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव नेपालमा खाद्य वस्तुमा समेत परेको छ । ठूला व्यापारी र उद्योगीको मिलेमतोमा खानेतेलको कृत्रिम अभाव गराइएको, माग अनुसार नपाइने र पाइहाले पनि चर्को मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् । आइतवार काठमाडौंको कालीमाटीमा खाद्य वस्तु किनमेल गर्न आएकी रीता बस्नेतले खानेतेल किन्न ६ ओटा पसल चहार्नुपरेको सुनाइन् । ‘जुन पसलमा गए पनि तेल छैन, सकिएको छ भन्छन्, बल्लतल्ल ४ लिटर तेल पाइयो,’ उनले भनिन् ।

बजारमा खानेतेलको अभाव हुनुमा सबैभन्दा बढी थोक व्यापारी र उद्योगी जिम्मेवार रहेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले बताए ।

उद्योगी तथा ठूला व्यापारीले नै रूस–युक्रेन युद्धका कारण खाद्य वस्तु ९विशेषगरी खानेतेल०को अभाव हुन्छ भन्ने खालको हल्ला चलाउँदा कतिपय व्यापारीले मूल्य बढाउन लुकाएको हुन सक्ने संघको भनाइ छ । बजारमा तीन महीनालाई पुग्ने तेल मौज्दात रहेको संघको अनुमान छ ।

एकातर्फ बजारमा कृत्रिम अभाव हुँदा उपभोक्ताले समस्या भोग्नुपरेको छ भने अर्कातर्फ थोक व्यापारीले खुद्रा व्यापारीलाई सही बिलबिजक उपलब्ध नगराउँदा समस्या अझ बढी थपिएको बताइएको छ । संघका अनुसार प्रतिलिटर अधिकतम २४० रुपैयाँ लेखिएको सनफ्लावर तेलको मूल्य थोक व्यापारीले खुद्रा व्यापारीलाई २६८ रुपैयाँमा विक्री गर्ने गरेका छन् । तर उनीहरूले खुद्रा व्यापारीलाई २४० रुपैयाँकै बिल उपलब्ध गराउने गरेका छन् । यसरी थोक व्यापारीले सही बिलबिजक नदिँदा खुद्रा व्यापारीलाई तेल विक्री गर्न पनि समस्या भइरहेको वज्राचार्यले बताए ।

‘२६८ रुपैयाँमा किनिएको तेलमा १० प्रतिशत नाफा राख्दा २९४ मा बेच्नुपर्ने हुन्छ, उनले भने, ‘तर हामीले २७५ मा मात्र बेच्ने गरेका छौं ।’ यतिमा बेच्दा पनि अधिकतम खुद्रा मूल्य कम भएकाले वाणिज्य विभागको कारबाहीमा परिने त्रासले कतिपय खुद्रा व्यापारीले तेलको कारोबार नै गर्न छाडेको उनको भनाइ छ । यसले पनि बजारमा अभाव देखिने अवस्था आएको हुन सक्ने उनले बताए । संघका अनुसार पछिल्लो पटक हरेक ब्राण्डको तेलमा प्रतिकार्टोन ४ सय रुपैयाँ मूल्य बढेको छ । थोक व्यापारीले भने आफ्नो बचाउ गर्दै बजारमा तेलको अभावका साथै मूल्य बढेको भएको बताएका छन् । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - ०७:३३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology