Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एमसीसीले खटपटः रिसाएका काजी फकाउँदै प्रचण्ड

एमसीसीले खटपटः रिसाएका काजी फकाउँदै प्रचण्ड

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
एमसीसीले खटपटः रिसाएका काजी फकाउँदै प्रचण्ड
images

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र विवाद चर्किएको छ ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् । एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले पाँच दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब के गर्ने भन्दै छलफलमा जुटेपछि दाहाल उनलाई फकाउन लागिपरेका छन् ।

एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर माओवादी पार्टीमा विवाद चर्कंदै गएपछि श्रेष्ठले नयाँ पार्टी गठन गर्ने चर्चासमेत भइरहेको छ । अध्यक्ष दाहाल मंगलबार श्रेष्ठलाई फकाउन हात्तीवनस्थित उनको निवास पुगेका पुगेका छन् । दाहाल र श्रेष्ठबीचको भेटपछि दाहालका स्वकीय सचिव रमेश मल्लले पार्टीमा कोही कसैप्रति असहिष्णु र अमर्यादित नहुन आग्रह गरेको बताए ।

दाहालको सचिवालयले पार्टीभित्रको असहमति कमिटीभित्रै दर्ज गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । अध्यक्ष दाहालले श्रेष्ठसँग भेटेर आफ्ना असन्तुष्टि पार्टीको बैठकमा राख्न आग्रह गरेका छन् ।

पार्टीमा नेताहरूबीच कहिलेकाहीँ मुद्दागत वा विषयगत अस्पष्टता र असहमति हुने तर ती विषय पद्धतिअनुरूप पार्टी कमिटीमा दर्ज गर्नुपर्ने दाहालका स्वकीय सचिव मल्लले बताए ।

श्रेष्ठले संसद्बाट एमसीसी पारितको दिनलाई आमदेशभक्त नेपाली जनताले ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् ।

दाहालसँगको भेटमा नेता श्रेष्ठले एमसीसी राष्ट्रहितविपरित हुँदाहुँदै पारित गर्न सहमति किन गरेको रु भन्दै असन्तुष्टि पोखेका छन् । माओवादी स्रोतका अनुसार दाहालबाट श्रेष्ठ अझै असन्तुष्ट छन् । दाहालले जति फकाए पनि उनी आफ्नो अडानमा यथावत् छन् ।

यसअघि माओवादीको बैठकमा नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना बिशंखे, रेखा शर्मालगायतका नेताहरूले एमसीसी पारित गर्नुहुँदैन भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सांसदहरू रेखा शर्मा, जयपुरी घर्ती, यशोदा सुवेदीलगायतका नेताहरू समेत दाहालबाट असन्तुष्ट छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले श्रेष्ठतर्फ इंगित गर्दै एमसीसीको विरोध गरेर सबै कार्यकर्ता र जनता आफूतिर आउँछन् भन्ने नठान्न भनेका थिए । यस्तै, वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी दाहालले गरेका थिए । उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने भनेका थिए । समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - ०६:५५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology