Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चुनावका लागि स्रोत जुटाउन सरकारलाई सकस

चुनावका लागि स्रोत जुटाउन सरकारलाई सकस

दैनिकी न्यूज

१२, फाल्गुण २०७८
चुनावका लागि स्रोत जुटाउन सरकारलाई सकस
images

काठमाडौं । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारलाई चुनावी खर्च जुटाउन समस्या परेको छ ।

अर्थ मन्त्रालयले चुनावका लागि चालू आर्थिक वर्ष (आव) को बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएको छ । तर, निर्वाचन आयोगलगायत निकायबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम माग भएपछि स्रोतको जोहो गर्न समस्या परेको हो । माग गरिएअनुसारको बजेट जोहो गर्न मन्त्रालयले दिनहुँजसो विभिन्न दातृ निकायसँग हारगुहार गरे पनि दाताहरू सहयोग गर्न अनिच्छुक देखिएका छन् ।

दातृ निकायबाट सहयोग जुटाउन ठूला साझेदार संस्था विश्व बैंक, एशियाली विकास बैंक, आईएमएफजस्ता निकायसँग मन्त्रालयका अधिकारीहरूले छलफल गरिरहेका छन् । यस्तै भारत, चीन, अमेरिका, बेलायत, जर्मनी जस्ता राष्ट्रका राजदूतसँग पनि चुनावी स्रोत जोहोका लागि सरकारले लबिङ गरिरहेको अर्थका एक उच्च अधिकारीले बताए ।

अघिल्लो साता मन्त्रालयमा विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर, कार्यकारी निर्देशक मोहम्मद हसन, नेपालसहित माल्दिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक फारिस हादाद जार्भोस लगायतसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि सहयोग गर्न आग्रह गरेका थिए । शर्माको यस्तो आग्रहपछि दातृ निकायका अधिकारीहरूले खासै प्रतिक्रिया नजनाएको स्रोतले बतायो ।

नेपालका लागि साउदी अरेबियाका राजदूत मुसिद सुलेमान एम अलमारवानीले गत साता नै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेका थिए । त्यसै साता नेपालका लागि इजरायलका राजदूत हनान गोडर, नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत थोमस प्रिन्जसँग पनि खड्काको भेटवार्ता भएको थियो ।

उनीहरूबीच विकास सहयोग, व्यापार, लगानी र द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै आगामी वैशाखमा हुने चुनावका लागि परराष्ट्र मन्त्री खड्काले उनीसँग आर्थिक सहयोगका लागि आग्रह गरेको परराष्ट्र स्रोतले बतायो ।

दुई दिनअघि एक टेलिभिजन अन्तरवार्तामा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले एक राजदूतले ५० अर्ब रुपैयाँको अनुदान नचाहिने मुलुकका लागि सहयोग नचाहिने आफूसँग बताएको खुलासा गरेका थिए । खासगरी एमसीसीका बारेमा गठबन्धन सरकारमा रहेका दलहरू नै विभाजित भएपछि दाताहरू चिढिएको बताइन्छ ।

मन्त्रालयका उपसचिव हरीशचन्द्र ढकालले चुनावी खर्चको जोहोलगायतका समग्र पक्षमा सहयोग गर्न निरन्तर छलफल भइरहेको बताए । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले अर्थलाई ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट निकासका लागि पत्र पठाएको छ ।

यो २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भन्दा करीब ८१ करोडले बढी हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बजेट निकासाका लागि अर्थलाई पत्र पठाइसकिएको जानकारी दिए । गृह मन्त्रालयले पनि चुनावी खर्चको प्रस्ताव गरेको छ ।

यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - ०६:१८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology