चितवन । चितवनमा अदालतले सजाय सुनाएर फरार रहेका २६० जनालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न मुद्दामा सजाय तोकिएर भागेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ९चितवन० ले पक्राउ गरेको हो।
चालु आर्थिक वर्षको ७ महिनामा जिल्ला अदालत (चितवन) बाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाइएको हो।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत किर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबर्जस्ती करणीका कसुरदार छन्। यस्तै कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसुर र लागुऔषध मुद्दाका प्रतिवादी पनि छन्।
फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका उनीहरूबाट कार्यालयले ८७ वर्ष ८ महिना, २३ दिन कैद सजाय र १ करोड ३४ लाख १६ हजार १७९ रुपैयाँ जरिवानासमेत असुली गरेको छ। अधिकारीका अनुसार अदालतबाट फैसला कार्यान्वयनका लागि आएका पत्रका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। रासस