काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले औँल्याएको छ ।