Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सहकारीको ८० लाख लिएर अध्यक्ष बेपत्ता

सहकारीको ८० लाख लिएर अध्यक्ष बेपत्ता

दैनिकी न्यूज

२९, माघ २०७८
सहकारीको ८० लाख लिएर अध्यक्ष बेपत्ता
images

झापा । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाखभन्दा बढी रकम लिएर तीन महिनादेखि फरार रहेका खुलासा भएको छ। दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाखभन्दा बढी ऋण रकम लिएर फरार भएको रहस्य खुलेको हो।

उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा अहिलेसम्म नआएको व्यवस्थापक ललिता तामाङले बताए। अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखित रूपमा जानकारी गराएका थिए। अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ।

पीडितले दिएको निवेदनअनुसार सहकारीको रु २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको रु २१ लख, दमक–५ का राजु गौतमको रु चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको रु ८ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको रु १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको रु २ लाख, कमल गाउँपालिका–४ का गौरी राईको रु २ लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको रु ६ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन्।

सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताए। सामाजिक सञ्जालमार्फत पीडितले न्यायका लागि सहयोग पु¥याइदिन अपिल गरेका छन्।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १९:२४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology