काठमाडौं । सुकुम्बासीहरुलाई जग्गा वितरण गर्छु भन्दै ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउसो तीन बजेको समयमा काठमाडौं–१६ बसन्तनगर गुणस्तर पछाडि रहेको भेटघाट क्याफेमा २ जना ब्यक्तिहरुले पैसा असुल गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
‘आफूलाई भूमी आयोगले खटाएका ब्यक्तिहरु भनी परिचय गराई काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्त गर्न जनही ५० हजारका दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने कार्य गर्दै गरेका’ चार जनालार्ई उक्त कार्यमा प्रयोग गरिएका सामग्रीसहित फेला पारी नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा झापा जिल्ला, भद्रपुर–३ घर भई हाल काठमाडौंको टोखा–८ बानियाँटार बस्ने वर्ष ३८ को होम नारायण चौधरी र बुढानिलकण्ठ–४ का वर्ष ४४ को उद्धब भण्डारी रहेको महानगरीय प्रहरी परीसर काठमाडौंले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ल्याप टप, चार्जर तथा माउस, प्रिन्टर, अनुसुची ३ (दफा ६ को उपदफा २ सँग सम्बन्धित) (भूमीहिन दलित, भूमीहिन सुकुम्बासीले भर्ने निवेदन फाराम) लेखिएको फारमहरु, अनुसुची ४ (दफा ६ को उपदफा (२) सँग सम्बन्धित अब्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, विभिन्न ब्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर मोवाइल, किप्याडसहितको मोवाइलसमेत बरामद गरेको छ ।