Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

दैनिकी न्यूज

१४, माघ २०७८
एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने
images

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

सामूहिक राजीनामा दिने मनस्थितिमा
‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन । दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं । पदीय मर्यादाक्रमसमेत मिलेको छैन । हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ । पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ । यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने ।

पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन् । तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं । पार्टी अध्यक्षसँग आगामी दिनमा हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं,’ असन्तुष्ट ती पदाधिकारीले भने । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - ०६:५५:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology