Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

तीन दिनसम्म देशभर वर्षा र हिमपातको सम्भावना

तीन दिनसम्म देशभर वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

६, माघ २०७८
तीन दिनसम्म देशभर वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ। बिहान छिटफुट वर्षासमेत भएको छ। महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम पाँच दशमलव दुई र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ। रासस

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - ११:००:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology