Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

२० हजार प्रहरीको बढुवाका लागि बाटो खुल्यो

२० हजार प्रहरीको बढुवाका लागि बाटो खुल्यो

दैनिकी न्यूज

५, माघ २०७८
२० हजार प्रहरीको बढुवाका लागि बाटो खुल्यो
images

काठमाडौं । प्रहरी नियमावली संशोधन भई राजपत्रमा प्रकाशित भएपछि २० हजारभन्दा बढी कनिष्ट प्रहरी अधिकृतको एकैपल्ट बढुवाको ढोका खुलेको छ । सरकारले प्रहरी नियमावली–२०७१ संशोधन गरेर सोमबार राजपत्रमा प्रकाशित गरेपछि लामो समयसम्म बढुवा नभएर जागिर छोड्ने प्रवृत्तिमा कमी आउने प्रहरी प्रधान कार्यालयले दाबी गरेको छ । लामो समयदेखि एउटै पदमा कार्यरत रहँदा जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीले संगठनबाट राजीनामा दिएर अन्यत्र राम्रो अवसरको खोजीमा जुट्ने गरेका थिए ।

संशोधित नियमावली मंगलबारदेखि कार्यान्वयन आएपछि प्रहरी प्रधान कार्यालयले सोहीअनुरूपको कामको शुरुआत गरेको छ । मंगलबार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षकमा दुई जनाको बढुवा गरेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिनुभयो । बढुवा भएका दुवै अधिकृतले मंगलबारदेखि नै अनिवार्य अवकाशसमेत पाएका छन् ।

नेत्रबहादुर जर्घा र हेमबहादुर अधिकारी प्रहरी नायव निरीक्षकमा बढुवा हुनुभएको थियो । यदि संशोधित प्रहरी नियमावली कार्यान्वयनमा नआएको भए उहाँहरुले प्रहरी सहायक निरीक्षकबाट अनिर्वाय अवकाश पाउने प्रहरी प्रवक्ता केसी बताउनुहुन्छ ।

नेपाल प्रहरीले प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म लामो समयसम्म बढुवा नहुँदा कार्यक्षेत्रमा खटिने कर्मचारीको मनोबल गिर्दै गएको भन्दै तीन तह थप्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । सरकारले प्रहरी नियमावली संशोधन गरेपछि ४६ हजार प्रहरी जवानमध्ये मापदण्ड पुगेका १५ हजार ५ सय २७ प्रहरी जवान अब प्रहरी सहायक हवल्दारमा बढुवा हुने भएका छन् । जुन प्रहरी संगठनको संरचनामा रहेका ३३ प्रतिशत प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा हुने भएका हुन् ।

३ हजार ७ सय ४७ प्रहरी हवल्दार प्रहरी वरिष्ठ हवल्दारमा बढुवा हुने भएका छन् । त्यस्तै, १ हजार ४ सय १७ प्रहरी नायव निरीक्षकमध्ये प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा हुने भएका छन् । संशोधित नयाँ नियमावलीपछि २० हजारभन्दा धेरै कनिष्ठ प्रहरी अधिकृतले लाभ लिने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी केसीले बताउनुभयो । ‘जुनियर प्रहरी अधिकृतको बढुवा लामो समयदेखि रोकिएको थियो’, उहाँ भन्नुहुन्छ– ‘मंगलबारबाट नियमावली कार्यान्वयनमा आयो, संशोधित नयाँ नियमावली आएपछि एकैपटक २० हजारभन्दा धेरै प्रहरीको बढुवाको बाटो खुलेको छ ।’

संशोधित नयाँ नियमावलीमा बढुवाको अवधि घटाइएको छ । नयाँ नियमावलीअनुसार प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाको सेवा अवधि पाँच वर्ष पुगेपछि बढुवाका लागि योग्य हुने उल्लेख गरिएको छ । पहिले यो अवधि आठ वर्ष थियो । उहाँका अनुसार बढुवा हुने सबै प्रहरी कर्मचारीको तलब सुविधा पनि बढ्नेछ । यसका लागि सरकारलाई वार्षिक १७ करोड रुपियाँको आर्थिक भार थप हुने अनुमान गरिएको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - ०७:३३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology