Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

विसं २०७९ का लागि १४ ओटा पात्रोले पाए स्वीकृति

विसं २०७९ का लागि १४ ओटा पात्रोले पाए स्वीकृति

दैनिकी न्यूज

४, माघ २०७८
विसं २०७९ का लागि १४ ओटा पात्रोले पाए स्वीकृति
images

काठमाडौं । विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ ओटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ ओटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन् । विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो प्रकाशन भइसक्थ्यो । गत वर्षदेखि कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले काममा ढिलाइ भएर प्रकाशन ढिला हुन थालेको हो ।

विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

गत वर्षदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । यस वर्ष भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय गरेका छैनन् ।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। अन्य भित्तेपात्रो भने विभाग र समितिले स्वीकृति दिएका पात्रो सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल शुरु भएको समितिले बताएको छ । रासस

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - १६:०४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology