काठमाडौं । काठमाडौंको बानेश्वरस्थित एनआइसी बैंकबाट १६ लाख रकमचोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र बानेश्वर वृत्तले चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्ने २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोक घर भई ललितपुरको धापाखेल बस्ने २४ वर्षीय विमल तामाङ, रामेछाप घर भई ललितपुरको ढोलाहिटी प्रगतिमार्ग बस्ने २४ वर्षीय शक्तिराज पौडेल र भक्तपुरको देउराली बस्ने २७ वर्षीय अनिश खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक मैनालीका अनुसार प्रदीप खत्री यस घटनाका मुख्य योजनाकार हुन्। उनी काठमाडौं महानगर–३१ बानेश्वरको युनिग्लोब कलेज अगाडि एनआइसी एशिया बैंकको कलेक्टर थिए। चार जनाबाट प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार रुपैयाँ बरामद गरिसकेको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।