Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

ट्राफिक सचेतनाको लागि सडकमा ‘डमी ट्राफिक प्रहरी’

ट्राफिक सचेतनाको लागि सडकमा ‘डमी ट्राफिक प्रहरी’

दैनिकी न्यूज

१६, भाद्र २०७७
ट्राफिक सचेतनाको लागि सडकमा ‘डमी ट्राफिक प्रहरी’
images

काठमाडौँ । महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि महानरीय ट्राफिक महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न स्थानका सडकको छेउमा २२ वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको छ । डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा रू. ५०० देखि १०,००० सम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए ।
उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिएका छन् ।

उक्त ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौ महानगरपालिकासँग सहकार्य गरी राखेको महाशाखाले जनाएको छ । ती डमीहरू सिंहदरबार, सिंहदोबाटो, माईतिघर, नयाँ बानेश्वर चोक, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएका छन् ।

त्यस्तै, महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ । उक्त बोर्डमा सकेसम्म सामाजिक दुरी कायम राखौँ, कोरोना विरूद्धको स्वास्थ्य मापदण्ड सधै पालना गरौँ, जोर विजोर नियमको पालना गरौँ, सधै मास्क लगाएर हिडौँ, अनावश्यक हिड्डुल नगरौँ, ट्राफिक नियमको पालना गरौँ जस्ता सन्देशहरू उक्त बोर्डमा लेखिएका छन् ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १४:०१:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology