Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

आयल निगमका एक तिहाइ कर्मचारी जगेडामा

आयल निगमका एक तिहाइ कर्मचारी जगेडामा

दैनिकी न्यूज

२, भाद्र २०७७
आयल निगमका एक तिहाइ कर्मचारी जगेडामा
images

काठमाडौँ । कर्मचारीमा कोरोना विषाणुको सङ्क्रमण देखिन थालेपछि नेपाल आयल निगमले कर्मचारी जगेडामा (ब्याकअप) राख्न थालेको छ । आफ्ना कर्मचारीमध्ये ३३ प्रतिशतलाई ब्याकअपमा राखेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । सुरक्षाका लागि हरेक कार्यालयमा केन्द्रले अनुगमन बढाएको पनि जानकारी उहाँले दिनुभयो ।

तीन दिनअघि भैरहवा डिपोका ११ जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि निगमले देशभरका कार्यालयमा सतर्कता बढाएको हो । निगमले विज्ञप्ति जारी गरी भैरहवा डिपो पाँच दिनका लागि बन्द गरी पाँच दिनपछि ट्याङ्कर चालक र सहचालकको पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको छ । कोरोनाको सङ्क्रमण देखिएकालाई आइसोलेसनको व्यवस्था गरेको छ ।

भैरहवाको डिपो बन्द अवधिभर त्यस क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट ढुवानी गराई भैरहवा डिपोमा स्टक ट्रान्सफर गर्ने र त्यहाँ रहेका मौजुदा कर्मचारीबाट बिक्री वितरणको व्यवस्था मिलाएको छ । पेट्रोल पम्प र हवाई इन्धनसम्बन्धी निकायसँग समन्वय गरी सात दिन बन्द गर्न भैरहवा डिपोलाई निर्देशन गरेको छ ।

कोरोना भाइरसको महामारीमा सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ प्राप्त होस् भन्ने हेतुले सरकारले तोकेको मापदण्ड अपनाई पूर्वतयारी साथ काम गरिएको उपाध्यायको भनाइ छ । कर्मचारीलाई आलोपालो कार्यालयमा खटाइएको र उनीहरूको एक लाख रुपियाँको कोरोना बीमा गरिएको उपाध्यायले जानकारी लिनुभयो । उहाँका अनुसार केन्द्रमा १४७ जनाको पीसीआर जाँच गरिएको छ । प्रादेशिक कार्यालयअन्तर्गत पोखरा, धनगढी, नेपालगञ्ज, अमलेखगञ्जमा पनि पीसीआर जाँच गरिएको छ ।

उहाँका अनुसार निगमका डिपो तथा हरेक कार्यालयमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । कर्मचारी आलोपालो गरी कार्यालय आउने गरेका छन् भने कार्यालयमा सामाजिक दूरी कायम गरिएको छ । मान्छेको आवातजावत कम गरिएको छ । अति आवश्यक काममा मात्रै सेवाग्राहीलाई कार्यालयमा प्रवेश दिइएको उपाध्यायको भनाइ छ ।

भारतीय सीमामा रहेका भन्सार डिपोबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा पनि सावधानी अपनाइएको निगमले जनाएको छ । अमलेखगञ्जबाट काठमाडौँको थानकोटमा आउने ट्याङ्करलाई डिपो प्रवेश गर्नुपूर्व ज्वरो नाप्ने र हात धुन लगाउने गरिन्छ । मास्क नलगाई डिपोमा प्रवेश दिइँदैन, निर्मलीकरणका लागि निर्मलीकरण द्वारको व्यवस्था गरिएको छ, पहिलाजस्तो ट्याङ्करलाई डिपोमा धेरै समय राख्दैनौँ, देशभरका डिपोमा सोहीअनुसार सुरक्षा अपनाइएको उहाँको भनाइ छ ।

निगमले थानकोट, भैरहवा, अमलेखगञ्ज, नेपालगञ्जलगायतका डिपोमा स्प्रे टनेलको पनि व्यवस्था गरेको छ । तेल भर्न जाने ट्याङ्करलाई पूरा चेकजाँच गरी प्रवेश दिइएको छ । डिपोभित्र हिँडडुल गर्न कडाइ गरिएको छ ।

उपाध्यायले सरकारले तोकेको मापदण्ड पालना गरेर काम गरिरहेको र हालसम्म ढुवानी र बिक्री वितरणमा कुनै असहज परिस्थिति नआएको जनाउनुभयो ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - ०६:४०:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology