Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

विदेशी नागरिकबाट ४८ लाख ठगी

विदेशी नागरिकबाट ४८ लाख ठगी

दैनिकी न्यूज

१, भाद्र २०७७
विदेशी नागरिकबाट ४८ लाख ठगी
images

काठमाडौँँ । लन्डन निवासी चिकित्सक, त्यो पनि दुई लाख ३० हजार पाउन्डको उपहारसहित बिहेको प्रस्ताव आएपछि जोकोही सोच्न बाध्य हुन्छन् तर राजधानीमा यस्तो झुटो आश्वासनमा फसेपछि एक महिलाले ४८ लाख रुपैयाँ ठगिनु परेको बताइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले बिहेको प्रलोभन देखाई एक महिलालाई मूल्यवान् उपहार पठाएको भ्रममा पारी ४८ लाख ५४ हजार ठगी गरेको अभियोगमा अफ्रिकी मुलुक एङ्गोलाका नागरिक ४८ वर्षीय सिल्भा एन्टोनिया डा कास्टोलाई होटल सोल्टी बाहिरबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सम्पर्कमा आएका अभियुक्त सिल्भा एनटोनियाले पीडित नेपाली महिलालाई आफू लन्डनस्थित बुपा क्यामवाल अस्पतालको चिकित्सक मार्क आरोन भएको परिचय दिएका थिए । कतिसम्म भने उनले बिहेको प्रस्ताव राखी दुई लाख ३० हजार पाउन्डको उपहारसमेत पठाएको बताएका थिए ।

ती महिला पनि लन्डन निवासी चिकित्सकबाट बिहेको प्रस्ताव आउँदा मक्ख परिन् र हरतरह हुनेवाला दुलाहाले पठाएको बहुमूल्य उपहार लिन प्रयास गरिन् । कहिले भन्सार शुल्क त कहिले एक्सचेन्ज चार्जका नाममा झन्डै ४८ लाख ५४ हजार गुमाएपछि भने बल्ल उनले आफू ठगिएको चाल पाइन् ।

महाशाखाका प्रवक्ता ईश्वर कार्कीका अनुसार यत्तिको रकम खर्च गर्दा पनि उपहार हात परेन । उल्टै थप २० हजार माग भएपछि पीडित महिला उजुरी बोकेर प्रहरीको सम्पर्क गएको १२ घण्टा नबित्दै अभियुक्त सिल्भा एन्टोनिया पक्राउ परेका हुन् । उनले पीडित महिलालाई सुरुमा बानेश्वरस्थित होटल एभरेस्ट र त्यसपछि होटल सोल्टीमा बोलाएका थिए । ठमेलस्थित कोठामा छापा मारी नेपालमै बसेर नेपाली युवतीलाई ठगी गरेको अवस्थामा सिल्भालाई पक्राउ गरिएको हो । उनको साथबाट तीन लाख ५० हजार नगद, एक हजार अमेरिकी डलर, एक हजार दरका तीनवटा नक्कली नोट, एटीएम कार्ड बरामद गरिएको छ ।

गत फागुन २४ गते नेपाल आएका सिल्भा अनलाइन ठगीका मास्टर भएको बताइएको छ । उपहारको प्रलोभनमा यत्तिको नगद खर्च गर्ने पीडित महिलाका सम्बन्धमा पनि अनुसन्धान सुरु गरिएको छ ।

यसअघि अफ्रिकी मुलुक युगान्डा, तान्जानिया र अमेरिकका नागरिकलाई पनि यस्तै ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरिसकेको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - ०६:२५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology