काठमाडौं। दैलेख, आठबिस नगरपालिका-४ बस्ने २३ वर्षीया पुरुषलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश माझिलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका राकम बजारमा माझिले खुकुरी प्रहार गर्दा ती पुरुष घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पुरुषलाई उपचारको लागि सुर्खेततर्फ लगिएको छ ।
स्याङजा, आँधिखोला गाउँपालिका-४ स्वारादी बस्ने ३८ वर्षीया महिला सहित २ जनालाई ढुङ्गा र लाठी प्रहार गरी कुटपिट गरेको अभियोगमा पर्बत कुशमा नगरपालिका-१४ आर्थर घर भएका सन्तोष बिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी बिक लगायतका ८ जना व्यक्तिहरुले २ जना मानिसहरुलाई कुटपिट गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिलाउनेबास स्याङ्जाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्नमध्ये बिकलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका दुबैजनालाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ । कुटपिटमा संलग्न रही फरार रहेका अन्य ७ जनाको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।