Logo

सोमवार, भाद्र २९ गते २०८३

images

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

दैनिकी न्यूज

२४, भाद्र २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
images

ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ।

अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाका अनुसार प्रत्यारोपणपछि आवश्यक उपचार र विशेषज्ञको निगरानी पूरा गरी बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको उनले जानकारी दिए।

बालिकाकी ३३ वर्षीया आमाले आफ्नो कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन्। आमाले दिएको कलेजोको हिस्सा छोरीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यो जटिल शल्यक्रियाको सफलता मात्र होइन। यसमा आमाको त्याग, परिवारको आशा र चिकित्सकीय टोलीको मेहनत जोडिएको छ।

किष्ट प्रत्यारोपण केन्द्रले नेपालमै जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको जनाएको छ। केन्द्रमा आधुनिक पूर्वाधार, अनुभवी विशेषज्ञ चिकित्सक, शल्यक्रिया सुविधा र सघन उपचारको व्यवस्था रहेको अस्पतालले जनाएको छ।

प्रत्यारोपणअघि, प्रत्यारोपणका क्रममा र प्रत्यारोपणपछि आवश्यक उपचारलाई केन्द्रले समन्वय गरेर अघि बढाउँदै आएको छ। विभिन्न विधाका चिकित्सकको समन्वयमा बिरामीको उपचार गरिँदै आएको अस्पतालले जनाएको छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपणलाई किष्ट शिक्षण अस्पतालले आफ्नो प्रत्यारोपण सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। अस्पतालले आगामी दिनमा बालबालिकासहित जटिल बिरामीका लागि उन्नत प्रत्यारोपण सेवा विस्तार गर्ने जनाएको छ।

डा. थापाका अनुसार नेपालमै जटिल प्रत्यारोपण सेवा विस्तार हुनु बिरामी र उनीहरूका परिवारका लागि महत्वपूर्ण उपलब्धि हो। किष्टले आधुनिक पूर्वाधार, विशेषज्ञ चिकित्सकीय टोली र बहुविषयगत उपचार प्रणालीमार्फत गुणस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।

images
प्रकाशित मिति :भाद्र २४, २०८३ बुधवार - १८:५०:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology