काठमाडौं । रातको समयमा ट्याक्सी प्रयोग गरी धनमाल चोरीमा संलग्न रहेको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–८ ठेगाना भएका ३१ वर्षीय रोशन उप्रेती, सर्लाही बरहथवा नगरपालिका–७ घर भएका ३३ वर्षीय राम पुनित महतो, ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो, २६ वर्षीय अशोक कुमार महतो, काठमाडौं गोंगबु बस्ने नुवाकोट लिखु गाउँपालिका–८ ठेगाना भएका ३६ वर्षीय राम बाघदास र काठमाडौं टेकु बस्ने भारत मोतिहारी सुगौली थाना छाप्राबास ठेगाना भएका ५३ वर्षीय शत्रुधन प्रसाद जैसवाल रहेका छन् ।
काठमाडौं चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित बिशाल प्लाष्टोक्याव ई। प्रालिको कारखानाबाट मंसिर ११ गते राति पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको ६ थान साइजर र तामाको पावर केबल तार समेत गरी १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट उक्त चोरी कार्यमा संलग्न राम पुनित महतो सहित ५ जना र चोरी गरी ल्याएका सामानहरु खरिद गर्ने कवाड पसल सञ्चालक शत्रुधनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरुले रातको समयमा ट्याक्सी प्रयोग गरी समूह बनाई बिभिन्न सहकारी संस्था लगायत अन्य कारखानाहरुमा चोरी गर्ने गरेको खुल्न आएको छ । उनीहरूबाट ९ केजी ५ सय ग्राम तारका क्वाइलहरू बरामद भएको छ ।
उनीहरुलाई चोरी गरी लगेको सामानहरु सहित थप कानूनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।