ललितपुर । शलोम पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी भरतपुर महानगरपालिका, चितवन एक्स्पो सेन्टर हलमा २०७८ माघ ५ देखि ८ सम्म हुने भएको छ ।
कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराउँदै कृषि यान्त्रीकरण अनि औधोगिकरण तथा व्यवसायीकरण गर्न प्रदर्शनीले टेवा पुग्ने बताइएको छ ।
परियोजनाका वरिष्ठ इञ्जिनियर जित चन्दले सो प्रदर्शनी बिहान १० देखि साँझ ५ बजेसम्म हुने जानकारी गराउँदै सोमा उपस्थित व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखी शिवीर लगायतका आवश्यक बस्तुको समेत जोहो गर्ने भनाइ राखे ।
कृषि पूर्वाधार तथा यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेलले नीतिनिर्माता अनि पेशागत समूह तथा अनुसन्धानकर्ताका साथै कृषक लगायतका सरोकारवालाहरुलाई कृषि यन्त्र तथा प्रविधि सम्बन्धि जानकारी गराउन प्रदर्शनीले कोशेढुङ्गा सावित गर्ने बताए ।
नेपाल कृषि व्यवसायी संघका सचिव जेवी घिमिरेले आउँदो माघमा ४ दिन हुने भएको प्रदर्शनीमा कृषि यन्त्र अनि उपकरण तथा प्रविधिको बृहत प्रदर्शनी हुने बताए । उनले भने, “एकै थलोमा कृषि सम्बन्धी विभिन्न प्रविधिका साथै कृषक र विज्ञको समेत जमघट हुने मौका मिल्ने भएको छ ।”
सो कार्यक्रम कृषि कर्जा मेला संयोजक सुष्मा शर्माले उक्त प्रदर्शनीमा सो कर्जाका विषयमा कृषक र बैकंहरुबीच भएको मतभेदका साथै अन्य समस्याहरु निराकरणका लागि आफूहरुले राष्ट्रिय बहस गरिने भएको जानकारी गराइन । उनले भनिन्, “यस कर्जाका लागि आम कृषकहरुमा परेको मर्का सुनेर हामीलाई नीतिनिर्माण तहमा समेत कुरा लैजान सहज हुनेछ ।” मुलुकमा आफूहरुलेनै पहिलो पटक सो कर्जा सम्बन्धीत मेला आयोजना गर्न लागेको उनले दाबी गरिन् ।
मुक्तिनाथ कृषि कम्पनीका कार्यालय सचिव रामशरण तिमिल्सिनाले समग्र कृषि क्षेत्रका लागि सो प्रदर्शनीले नयाँ आयाम थप्ने भएको विश्वास व्यक्त गरे ।
शलोम एग्रिकल्चर प्रालिका सञ्चालक श्रीकृष्ण अधिकारीले आफूले इजरायलमा नौ वर्ष काम गर्दा त्यहाँ अपनाएका प्रविधि मुलुक सुहाउँदो यहाँ पनि भित्र्याउन आवश्यक ठानी आठ वर्षअघि २०७० सालमा पहिलोपटक कृषि यान्त्रीकरण प्रदर्शनी गरेर सोतर्फ जोड दिन सरकार र कृषकलाई झकझकाइरहेको सुनाए ।
सङ्घका संस्थापक अध्यक्ष महेन्द्रप्रसाद कडेलले आफूहरुले प्रदर्शनीमार्फत किसानदेखि सरकारलाई सचेत गराउन बाली संरक्षणदेखि सिँचाइ लागयतको प्रविधिमा समेत जानकारी गराएर अघि बढ्ने भएको बताए ।
संघका निवर्तमान अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले मुलुकमा रहेका सानादेखि ठूला कृषक दाजुभाइ तथा दिदीबहिनीलाई आउँदा दिनमा कसरी कृषि पेशा अप्नाउन सहज तुल्याउने भनी प्रदर्शनीमार्फत सहयोग गर्ने भएको औल्याए ।
संघका अध्यक्ष खोजराज कटुवालले प्रदर्शनीमा खाद्यान्न निर्माणदेखि भवन लगायतका प्रविधिका साथै पानी र माटो परीक्षण गर्नेसमेत यन्त्र बारे सुचना प्रदान गर्ने भएको बताए ।
उक्त कार्यक्रमको उद्देश्य किसान र कृषिको हितका लागि पराम्परागत नभएर आधुनिक कृषिका साथै पशुपालकका अनि मत्यपालक तथा पुष्पखेतीका साथै व्यवसायीक तरकारीखेती लगायत प्रशोधन र बजारीकरण सम्बन्धि यन्त्र तथा बीउबीजन समेतका बारेमा प्रदर्शनी गरिने जानकारी गराइयो ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ नेपालको विभिन्न क्षेत्रमा कृषि यान्त्रिकरण सम्बन्धी व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरणमा टेवा पुर्याउने उदेश्यले २०७१ सालमा स्थापना भएको कृषि व्यवसायीहरुको छाता संघ हो ।
यस संघले कृषकहरुलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो प्रदर्शनी २०७२ कोहलपुर बाँके, तेस्रो प्रदर्शनी, २०७३ भृकुटीमण्डप, काठमाडौं र चौथो प्रदर्शनी २०७४ धरानमा सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
मेलाका मुख्य आकर्षण :
कृषि प्रबिधिको प्रदर्शनी
कृषि यान्त्रिकरणको प्रदर्शनी
बिभिन्न्न रैथाने बाली प्रदर्शनी
कृषि सम्बन्धि सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम
बाली बिमा सम्बन्धि सुबिधा
कृषि सम्बन्धि बीउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्रि सुबिधा
उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी
कृषि संग सम्बन्धित विभिन्न संघ संस्थाको प्रदर्शनी
विभिन्न परिकारका खाजा स्टलहरु
नि: शुल्क प्रवेश