Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मध्यपुरथिमिमा नवदुर्गा नाच मनाइयो

मध्यपुरथिमिमा नवदुर्गा नाच मनाइयो

दैनिकी न्यूज

१२, पौष २०७८
मध्यपुरथिमिमा नवदुर्गा नाच मनाइयो
images

भक्तपुर। मध्यपुरथिमि नगरपालिका क्षेत्रमा यही पुस ४ गतेबाट आठ दिनसम्म दिउँसो र राति सञ्चालन भएको नवदुर्गा नाच तथा पूजा सम्पन्न भएको छ । यहाँको धार्मिक र सांस्कृतिक महत्व बोकेको सो नाच गए राति आरती र पूजा सम्पन्न गर्दै सम्पन्न भएकोे हो ।

 

मध्यपुरथिमि प्रमुख मदनसुन्दर श्रेष्ठले भने, “थिमि आफैँमा सांस्कृतिक सहर हो, त्यस माथि पनि धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ वर्षसम्म बन्द हुँदा मेरै पहलमा दुई वर्ष अगाडि पुनः सञ्चालन भएको थियो, गत वर्ष कोरोनाका कारण नाच प्रदर्शन हुन पाएन, यस वर्ष योमरी पून्ही अर्थात् आठ दिनसम्म मध्यपुरथिमिको टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरियो, साथै यहाँका नागरिकले पनि टोलटोलमा भव्य पूजा गर्नुको साथै नाचको अवलोकन पनि गरेका छन् ।”

मध्यपुरथिमिको दिगु टोलबाट सुरु भएको यो नाच बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायतका टोलटोलमा गएर प्रदर्शन भएको थियो । बालकुमारीमा बलिसहितको नवदुर्गा पूजा (द्यो ब्वयेकेगु) सम्पन्न भएको छ । नगरप्रमुख श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, ५ नं वडाध्यक्ष अमृतमान श्रेष्ठ, ६ नं वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतको सहभागिता रहेको थियो ।

नगर प्रमुख श्रेष्ठले भने “नगरपालिकाले मध्यपुरथिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौंदेखि मध्यपुरमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यसलाई रोक्नु हुँदैन भन्ने लागेर नगरपालिकाकै पहलमा आवश्यक सहयोग, खर्च र सुरक्षाको व्यवस्था गर्दै नाच सञ्चालनमा ल्याएका हौँ ।”रासस 

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - १२:१५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology