ललितपुर । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने भएको छ । बडिखेलमा रहेका राजनीतिक दलका व्यक्ति तथा समाजसेवी र स्थानीय जनताको सहभागितामा आज भएको छलफलले उक्त कुराको जानकारी गराएको छ ।
वडाध्यक्ष मुकुन्दबहादुर पहरीले बडिखेललाई धार्मिक तथा पर्यटकीय दृष्टिले विकास गरिदै लैजाने योजनानुरुप सो फिट अग्लो महादेवको मूर्ति स्थापना गर्न लागिएको बताए । उनले भने, “यस कामलाई नगरपालिका भरिकै ठूलो राष्ट्रिय गौरवको योजनामा लान लागेका छाँै । गोदावरीका वडाहरुमध्ये पिछडिएको क्षेत्रका रुपमा बडिखेल र यहाँका पहरी समुदाय रहेका हुँदा तपाईहरुको जीवनस्थर उकास्न यसले निकै सहयोग गर्नेछ ।” सो स्थानमा बढी भन्दा बढी आन्तरिकका साथै बाहय पर्यटक भित्रयाउन २०७४ सालमा आफूहरुले ‘तपेश्वर महादेव विकास तथा संरक्षण समिति’ गठन गरेर एकपटक सप्ताह समेत लाइसकेको पहरीले जानकारी गराए ।
हाल यस मन्दिर क्षेत्रमा ट्रष्ट तथा सभाहलका साथै उद्यान र शौचालय समेत निर्माण भइसकेको उनको भनाइ छ । “आउँदो आर्थिक वर्षभर रु ५६ करोड भित्र यस राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्नेछाँै”, उनले थपे, “हालसम्म लगभग रु तीन करोडको काम सम्पन्न भइसक्यो तर यसमा हामीले रु एक करोड ९० लाखको भुक्तानि लियौँ । यस रकम भने ललितपुर क्षेत्र नं १ प्रतिनिधि सभाका सांसद नवराज सिलवालले अपाङ्गमैत्री शौचालय निर्माणका लागि रु १० लाख अनि नगरपालिका तथा वडाले रु ८० लाख र यहाँका प्रदेश सभा सदस्य लालकुमारी पुनले बाँकी रु एक करोड सहयोग गर्नुभयो ।”
समितिका अध्यक्ष गौरव पहरीले सहरी विकास मन्त्रालय मार्फत पाएको रु २० लाखको काम हाल तपेश्वर क्षेत्रमा भइरहेको बताउँदै अब प्रदेशमार्फत अर्काे आउने रु एक करोड र नगरपालिका अनि वडाले दिने भनेको रु ६० लाखको काम गर्ने भएको बताए ।
समितिका सचिव सन्तकुमार नगरकोटीले डिल्लीमा निर्मित फाइबर ग्लासको मूर्ति मुलुकमा ल्याउन नेपाल सरकारबाट रु पाँच करोड सहयोग गर्ने भएको बताए ।
बज्रवाराही सव डिभिजन वन कार्यालय गोदावरीका वनरक्षक गणेश बस्नेतले सो मूर्ति स्थापनाका लागि सामुदायिक वनका प्रतिनिधिका साथै वडावासीको समेत राय अनि सल्लाह र सुझावका साथ अघि बढ्न आग्रह गरे ।
नेपाली काङ्ग्रेस बडिखेल वडा कमिटि अध्यक्ष प्रदिप आचार्यले धार्मिक तथा पर्यटकीय विकासका लागि आफ्नो पार्टी सदैव सहयोग गर्न तयार रहेको जनाउँदै विकासका नाममा हुने दुरगामी असरका बारेका ध्यान दिनाका साथै जलस्रोत र पर्यावरणलाई समेत मध्यनजर गरेर अघि बढ्न सुझाव दिए ।
स्थानीय एवं समाजसेवी गोकुल पहरीले तपेश्वर धामले बडिखेलको पहिचान थप अघि बढाउने धारणा राख्दै मूर्ति स्थापनापछि सुन्दर अनि रमणीय ठाउँ गाँजा र खराब काम गर्ने स्थान नबानोस भन्ने सल्लाह दिए ।
आजको छलफल कार्यक्रममा सो स्थानमा मूर्ति स्थापना गरी पर्यटक भित्रयाउने योजना बमोजिम चार वर्ष अघि देखि विभिन्न काम गरिरहेको बताइएको छ । सो छलफल बडिखेल भित्र रहेका विभिन्न समुहमा आवद्ध रहेका व्यक्तिको पनि उपस्थिति रहेको थियो ।
मूर्ति स्थापनाका लागि माटो परिक्षण अनि आवश्यक विभिन्न काम गरिएको र केही जारी समेत रहेको वडाध्यक्षले पहरीले सुनाए ।