काठमाडौँ । कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
जम्मा ३९७७ मत गणना भएको छ। अहिलेसम्म देउवाले १९०० मत प्राप्त गर्दा शेखर कोइरालाले भने १४६७ मत प्राप्त गरेका छन्।
त्यसैगरी प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।
कूल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।