Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

कांग्रेस १४औं महाधिवेशनः उम्मेदवार छान्नै सकस

कांग्रेस १४औं महाधिवेशनः उम्मेदवार छान्नै सकस

दैनिकी न्यूज

२३, मंसिर २०७८
कांग्रेस १४औं महाधिवेशनः उम्मेदवार छान्नै सकस
images

काठमाडौं । नेपाली कांग्रेसकोे १४औं महाधिवेश भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।

संस्थापन पक्षले उम्मेदवार’ छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।

तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवार’ कुनै टुंगो नै नलगाई बिनानिष्कर्ष सकिएको हो । संस्थापन समूहको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरूको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका उम्मेदवारमा दाबी गर्दै आएका नेतात्रय रामचन्द्र पौडले, प्रकाशमान सिंह र डा। शेखर कोइरालाबीच सहमति खोज्ने प्रयास भएको थियो ।

संस्थापन पक्षको बैठकले भने पदाधिकारी र सदस्य बन्न चाहने उम्मेदवारको राय लिएपछि आवश्यक छलफल र निर्णय गरी नाम सिफारिस गर्ने अधिकार सातै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई जिम्मा दिएको संस्थापन इतर समूहबाट सहमहामन्त्रीको उम्मेदवार दाबी गर्दै आएका नेता मीन विश्वकर्माले राजधानीसँग भने ।

सो कामका लागि संस्थापन पक्षले सुदूरपश्चिममा एनपी साउन, कर्णाली पूर्णबहादुर खड्का, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बाग्मतीमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल र प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिइएको हो । यसैगरी, इतर पक्षको बैठकमा सहमतिको अवस्था नबनेपछि वरिष्ठ नेता पौडेलले भने पार्टीलाई कमजोर बनाएर आफू हेरेर बस्न नसक्ने भन्दै बैठकमै आक्रोश व्यक्त गरे ।

उनले सिंह र कोइराला दुवैलाई ‘कि मिल्नुस् कि छाड्नुस्’ भन्दै पटकपटक आग्रह गरेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘प्रकाशजी र शेखरजी दुवै नेतालाई हामी सबैले पार्टीभित्रको सुधारवादी आन्दोलन कमजोर नहोस् भनेर पटक पटक मिल्नका लागि आग्रह गर्यौं तर उहाँहरू सहमति खोज्न तयार हुनुभएन,’ नेता केसीले भने ।

सहमतिको वातावरण बन्नेभन्दा बिग्रनेतर्फ अघि बढेपछि वरिष्ठ नेता पौडेलले ‘त्यसो भए म राजनीति छाड्छु, तपाईंहरू चलाउनुस्, म घरमा बस्छु’ भन्दै झोक्किएको एक नेताले जानकारी दिए । सभापतिका अर्का आकांक्षी रहेका महामन्त्री डा. शशांक कोइराला भने ब्याक भइसकेका छन् ।

उनले पौडेललाई समर्थन दिएका छन् । पौडेल पनि दुवै नेतालाई मिलाएर आफू अघि बढ्न प्रयासरत छन् । म्ंगलबारसमेत सिंह निवास चाक्सीबारीमा ५ घण्टा इतर समूहको बैठक बसेको थियो ।

त्यस्तै, बुधबार बिहानसमेत बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सहमतिको लामो प्रयास भएको थियो । सहमतिका लागि बिहीबार पुनः बैठक बस्ने बताइएको छ । प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो । प्रकाशित सूचीमा सातै प्रदेशका ७६ जिल्लाका प्रतिनिधिको नाम उल्लेख छ । तर, प्रदेश २ का सर्लाही जिल्लाबाट भने नामावली केन्द्रीय निर्वाचन समितिमा नआएका कारण राखिएको छैन ।

यस्तै, महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिहरूको नामसमेत सार्वजनिक हुन बाँकी छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सर्लाहीका चारै क्षेत्र र महोत्तरी ३ को प्रतिनिधिको सूची पनि शुक्रबारसम्म सार्वजनिक गरिने जानकारी दिए । प्रकाशित सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरूको नाम भने समावेश गरिएको छैन ।

कांग्रेसले १४औं महाधिवेशनमा देश तथा विदेश एवं भ्रातृ तथा शुभेच्छुक संघ संस्थाबाट र मनोनीत हुनेगरी ४६ सय बढी प्रतिनिधि सहभागी हुने बताउँदै आएको छ । समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - ०७:०३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology