Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

काँग्रेस केन्द्रीय र प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक

काँग्रेस केन्द्रीय र प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक

दैनिकी न्यूज

१४, मंसिर २०७८
काँग्रेस केन्द्रीय र प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक
images

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनको कार्यतालिका सोमबार साँझ प्रकाशन भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार मंसिर २४ गते १४ औं केन्द्रीय महाधिवेशन उद्घाटन हुने जनाइएको छ । केन्द्रीय महाधिवेशनको उम्मेदवारले मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ । मंसिर २६ गते मनोनयन पत्रमाथि पर्ने दाबी, विरोध दर्ता, मनोनयन फिर्ता एवम् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समितिले जनाएको छ । मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

यसैगरी, काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ हुने जनाइएको छ । काँग्रेस नेता कृष्ण सिटौलाले सो मितिमा देशका सात वटै प्रदेश अधिवेशनको उद्घाटन हुने बताउनुभएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुरुप अन्य प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ छ । सोमबार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग पनि यहि विषयमा छलफल भएको जानकारी उहाँले दिनुभयो ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर १६ गते मतदाता नामावली प्रकाशन गर्ने, मंसिर १७ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, मनोनयन पत्र उपर दाबी विरोध दर्ता, मनोनयन फिर्ता एवम् अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय भएको छ । मंसिर १८ गते बिहान ८ बजेदेखि प्रदेश अधिवेशनको मतदान सुरु हुने जनाइएको छ।

images
प्रकाशित मिति :मंसिर १४, २०७८ मंगलवार - ०५:५९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology